जबर्जस्ती मदिरा खुवाएर दलित बालिका बलात्कार गरेको घटनामा एक सातापछि प्रहरीमा उजुरी दर्ता

दिनेश शर्मा

राजविराज– मजदुरी गर्ने दलित बालिकालाई मदिराले लठ्याएर बलात्कार गरेको घटनामा प्रहरीले एक हप्तापछि उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। 

पीडकविरुद्ध मंगलबार जबरजस्ती करणीको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भोवश रिमालले बताए। पीडित परिवारले उजुरी दिनै ढिलो गरेकाले दर्ता पनि ढिलो भएको उनको भनाइ छ। बालिकाको सोमबार राति गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ। 

तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नर्सिङ माविको प्रांगणमा निर्माण भइरहेको भवनमा मजदुरी गर्ने १४ वर्षीया बालिकाको गत बुधबार साँझ बलात्कार भएको थियो। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध भएको करिब ३ करोड रुपैयाँको बजेटमा उक्त भवन निर्माण भइरहेको हो। 

घटनामा विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र भारतीय मजदुरको नेतृत्व गरेका अर्का एक मजदुरको संलग्नता रहेको जनाइएको छ। बालिकाकै छिमेकी एक महिला पनि घटनाको मुख्य योजनाकारका रुपमा रहेको स्थानीयले आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2019-07-09 14:02:59

प्रतिकृया दिनुहोस्