एचआइभी संक्रमितलाई भर्ना लिन मान्दैनन् विद्यालय

कीर्तिपुरको सफलता एचआइभी शिक्षा सदनमा कक्षा ८ पास गरेका ३ विद्यार्थी ९ कक्षामा भर्ना हुन निकै चहारे। तर कीर्तिपुरका कुनै पनि निजी तथा सार्वजनिक विद्यार्थीले उनीहरूलाई भर्ना लिन चाहेनन्।

सबै विद्यालयले उनीहरूका लागि ढोका बन्द गरे।

एउटा उपाय निकालियो । जिल्ला शिक्षा कार्यालयले सदनलाई नै ९ र १० कक्षा सञ्चालनको अनुमति दियो । तत्कालका लागि समस्या टर्‍यो। 
२ वर्षपछि फेरि समस्या दोहोरिएको छ।

‘१० कक्षा पास गरेपछि ती विद्यार्थीलाई कहाँ पढाउने ?’ प्रश्नले अहिले सदनका प्रधानाध्यापक राजकुमार पुनलाई रातदिन सताइरहन्छ।

थुप्रै निजी तथा सार्वजनिक स्कुलको चक्कर काटिसके उनले। तै पनि एचआइभी संक्रमित ती विद्यार्थी भर्ना गर्छु भन्ने कुनै स्कुल भेटिएनन्।

‘तत्कालका लागि समस्या टरेको थियो। तर अब वालवालिका १० कक्षा पुगिसके। एसईई सकेपछि कहाँ पढाउने भन्ने कुराले पिरोलिरहेको छ,’ पुनले नेपालन्युजसँग भने, ‘धेरै स्कुल चहारिसकेँ, तर कसैले पनि भर्ना लिन मानेका छैनन्। पढेलेखेका र आफूलाई विद्धान भन्न रुचाउनेहरूले पनि कुरा बुझ्न सकेनन्। सामान्य मानिसले विभेद नगरुन् भनेर आशा कसरी गर्नु?’

उनका अनुसार सबैजसो विद्यालय प्रशासन एचआइभी संक्रमित बालबालिका भर्ना लिए अरु विद्यार्थी नआउने र भएकाले पनि छाडेर जाने भन्दै पन्छिइरहेका छन्।

‘रोग लागेकै कारण बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन। जन्मँदै एचआइभी संक्रमित हुनुको पीडा बोकेका वालवालिकालाई आफ्नै परिवार, आफन्त र समाजले पनि तिरस्कार गर्दा उनीहरू मानसिक रुपमा बिक्षिप्त बन्छन्,’ पुनले भने, ‘संक्रमित बालबालिकाले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ। कानुनले उनीहरूलाई विना भेदभाव बाँच्न पाउने अधिकार दिएको छ। तर समाज भेदभावको नजरले हेर्छ।’

सदनमा १० कक्षासम्म २७ विद्यार्थी पढ्छन्। उनीहरू आमाबाबुबाट संक्रमण लिएरै जन्मिएका हुन्। अधिकांसका आमाबाबुको मृत्यु भइसकेको छ। सम्पूर्ण रुपमा असहाय भएकाले यहाँका विद्यार्थीको पढाईलगायत सम्पूर्ण व्यवस्थापनका लागि एक दशकदेखि राजकुमार पुन र उमा गुरुङले सहयोग जुटाउँदै आएका छन्।

सबै बालबालिकालाई सीप सिकाएर स्वाबलम्बी बनाई परनिर्भरता हटाउने सदनको योजना छ। विद्यालयको अहिले आफ्नै भवन छ। ललितपुरको फर्सिडोलमा ३० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ। त्यसैबाट आएको आम्दानीले विद्यालयका लागि हुने वार्षिक २५ लाख रुपैयाँ खर्च धान्न सहज भएको छ।

प्रकाशित मिति: : 2019-07-07 17:20:09

प्रतिकृया दिनुहोस्