झिनामसिना काममा अल्झियो प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दिक्तेलमा सडकको नाली सफा गर्दै रोजगार युवा । तस्बिरः दमन/नागरिक

खोटाङ- कतै झारपात उखेलेर त कतै छाडा पशु चौपाया धपाएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको बेला खोटाङमा झिनामसिना काममा अल्झिएको पाइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका १ सय ८३ बेरोजगार युवा रोजगारका लागि छानिए। ११ वटा वडा रहेको नगरपालिकाबाट छानिएका अधिकांश रोजगार युवालाई कच्ची सडक हेरालुको रुपमा काममा खटाइएको छ।

यस्तै, १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ सय ८० जना बेरोजगार नागरिकलाई पनि सडक मर्मत र सरसफाईकै काममा खटाइएको छ। ७ वडा रहेको केपीलासगढी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका रोजगार स्थानीयलाई सडक सोलिङ गर्ने, नाली निर्माण गर्ने र जाली भर्ने काममा लगाइएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दिइनुपर्ने कामको विषयमा स्पष्ट नहुँदा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका रोजगार नागरिकलाई रचनात्मक काममा भन्दा पनि टालटुल गर्ने काममै खटाइएको छ। उपलब्धीमुलक काममा लगाउनेभन्दा पनि सम्बन्धित जनपतिनिधिले सडक मर्मत गर्ने, सडकको नाली काट्ने, सडकको पानी कटाउने, जाली भर्ने, सरसफाई गर्ने, झार उखाल्ने, झाडी फाँड्ने, विद्यालय तथा भवनको बगैंचा बनाउने, रंगरोगन गर्ने जस्ता काममा खटाएका छन्।

प्रकाशित मिति: : 2019-07-03 18:22:31

प्रतिकृया दिनुहोस्