के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा?

 काठमाडौंको फोहोरले पुरानै नियति भोग्न थालेको छ। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलका स्थानीयले फेरि फोहोर फ्याल्न रोकेपछि अहिले काठमाडौंका सडक फोहोरको थुप्रोले भरिएका छन्। आइतवार साँझ महानगर र सिसडोलबासी बीच सहमति भएपछि सोमबार बिहानबाट बल्ल फोहोर उठ्न शुरु भएको छ।

चर्को घाम र मनसुने झरीका कारण ती फोहोरबाट आउने प्रदुषण मानव स्वास्थ्यका लागि झनै खतरनाक हुँदै गइरहेको छ। त्यसमाथि सडकको अवस्था र धुलो धुवाँको प्रदुषणलाई केही हदसम्म आफूबाट टाढै राख्न मानिसहरु मास्क लगाएर र नाक थुनेर हिँड्न बाध्य छन्।

उता शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनेको संख्या आधा घटेको बताए।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एक वर्ष अघि र अहिलेको काठमाडौंका सडकको अवस्थाका बारेमा मूल्यांकन गर्द भन्दै भने, ‘म प्रधानमन्त्री भएको बेला भनेको थिएँ, अब काठमाडौंमा नाक समाएर हिँड्न पर्दैन। मैले मास्क लगाएर हिँड्न पर्दैन भनेको थिएँ। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही हिँड्दैनन्।’

प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा कार्यक्रममा उपस्थित धेरैले ताली बजाए। तर आम मानिसहरुले र सामाजिक संजालमा भने केपी ओलीको भनाइ आलोचना भयो। धेरैले प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई उनको अर्को 'जोक' को संज्ञा दिए।

बजेट भाषणमा राजमार्गमा धावन मार्ग बनाउने र कलंकलीबाट प्रवेश गर्ने गाडीहरुलाई नाकामा नै सफा गर्ने महत्वकांक्षी योजना ल्याएका प्रधानमन्त्रीले सडक कालोपत्रे गरेको र धुलो हटाएको भन्दै दशैंसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुने ठोकुवा नै गरे।

प्रकाशित मिति: : 2019-07-02 08:50:32

प्रतिकृया दिनुहोस्