सिसडोलवासीको प्रश्न : काठमाडौंलाई फोहोरको दुर्गन्ध हुने, हामीलाई नहुने?

नुवाकोट- काठमाडौंमा फोहोर नउठ्ने बित्तिकै जनआक्रोशको पहिलो निसाना सरकार हुन्छ। काठमाडौंको नजरले सिसडोलवासीलाई पनि दोषी देख्छ। सरकारप्रति जनआक्रोश बढ्नु स्वभाविक हो। तर, सिसडोलवासीप्रति काठमाडौंको सोच सँधै पूर्वाग्रही भएको सिसडोलबासीको आरोप छ। 

काठमाडौंबाट २६ किमि टाढाको दुरीमा रहेको ककनी गाउँपालिका-२ सिसडोलको स्थलगत वस्तुस्थिति देख्दा फोहोर नउठ्नुको दोषी सिसडोलबासी होइनन् भन्ने आँकलन गर्न सकिन्छ। उस्तै माग लिएर वर्षौंदेखि ओखरपौवावासी आन्दोलनमा उत्रन्छन्। राज्यले तत्कालको बाटो फुक्ने गरी सहमति गर्छ, तर कार्यान्वयन गर्दैन। कैयौं पटक आन्दोलन गर्दै आएका स्थानीय यसपटक पनि आन्दोलनमा उत्रिए। काठमाडौं महानगरले फोहोर उठ्ने गरी अल्पकालीन सहमति गरेको छ। आइतबार भएको सहमतिले दिर्घकालीन समाधान निकाल्नेमा स्थानीय विश्वस्त छैनन् सिसडोलबासी। 

काठमाडौंको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्ने अवधारणा २०५२ सालदेखिकै हो। तत्कालीन काठमाडौंका मेयर पिएल सिंहले काठमाडौंको फोहोर बन्चरेडाँडामा विसर्जन गर्ने तय गरेका थिए। भौतिक पूर्वाधारको अभावमा बन्चरेडाँडामा फोहोर पुर्‍याउन असम्भव देखियो। पूर्वाधारको कमी देखिएसँगै विकल्पका लागि बन्चरेडाँडाभन्दा एक किलोमिटर वरै रहेको सिसडोल तय गरियो। 

उस्तै माग, वर्षौं आन्दोलन
सिसडोलमा फोहोर फाल्नका लागि वि. सं.२०६२ सालमा महानगरले स्थानीयसँग सम्झौता गरेको थियो। दुई वर्षका लागि गरिएको सम्झौता १४ वर्ष लम्ब्याइएको छ। स्थानीयबासीले राखेको ९ बुँदे माग अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। सिसडोलमा सडक पुर्‍याउने कामबाहेक अरु माग सम्बोधन हुन नसकेको कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसी बताउँछन्। 

प्रकाशित मिति: : 2019-07-02 08:02:09

प्रतिकृया दिनुहोस्