सत्तारूढ सांसदका गुनासै गुनासोः बोल्न बन्देज नलगाइयोस्

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकारको खुलेर आलोचना गरेका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्ने २९ जनामध्ये अधिकांश सांसदहरूले सरकार र पार्टीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । सरकारको काम प्रभावकारी हुन नसक्दा परिणाम हात लाग्न नसकेको निष्कर्ष निकालेका थिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकरले मनमा लागेका कुराहरू खुला खुलस्त राख्न पाउनुपर्ने बताए । उनले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा अनेकन प्रश्नचिह्न खडा भएको दृष्टान्त पस्कँदै सांसद तथा पार्टीका नेतालाई आफ्ना कुरा राख्न दिइनुपर्ने तर्क गरे । “नबोले चुप लाग्यो भन्नेजस्तो हुन्छ । बोल्यो आलोचना गरेको ठहरिन्छ,” जनार्दनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, “पार्टीका नेताहरूलाई बोल्नचाहिँ दिइयोस् ।”

त्यस्तै गुनासो सांसद रामकुमारी झाँक्रीको थियो । उनले पनि बोल्ने मञ्चसमेत नपाएको गुनासो गरिन् । शपथ ग्रहणबाहेक पार्टी केन्द्रीय कमिटीको एकफेर पनि नबसेको बताउँदै बोल्ने ठाउँ नै नभएको दुःखेसो पोखिन् । उनले पार्टी कमिटी चलायमान नभएको असर सरकार र उसले ल्याउने विधेयकमा परेको चर्चा गर्दै प्रश्न गरिन्– “विधेयकहरू बनाउँदा किन छलफल हुँदैन ? विरोधको सामना गर्नुपर्छ भनेर हो ?

प्रकाशित मिति: : 2019-07-02 07:55:41

प्रतिकृया दिनुहोस्