जो भिडे बाघसँग

भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गराईरहेका ईन्द्र बहादुर दुरा। तस्बिर : अनिल ढकाल

चितवन : खेतमा चरिरहेको बाख्रा खान आएको बाघसँग माडीका इन्द्रबहादुर दूराको जम्काभेट भयो। ५० फिट पर बाघ देख्दा उनी आत्तिए। बाघले उनलाई झम्टियो। उनले बाघको घाँटीमा अठ्याए। बाघ झम्टिन्थ्यो, उनी हातले हुत्याउँथे। बाघबाट जोगिन उनलाई कम्ता सकस परेन। उनले आफ्नो जीवन ‘यत्ति हो’ भन्ठाने। झन्डै तीन मिनेट उनले वयस्क बाघको सामना गरे। अन्तमा बाघलाई जितिछाडे इन्द्रबहादुरले।

‘टीभीमा मात्रै देखेको बाघसँग प्रत्यक्ष मुठभेड हुँदा जिन्दगी सकियो भन्ने लाग्यो’, उनले भने, ‘बाघले झम्टिने, मैले हुत्याउने क्रम चलिरह्यो। शरीरभरि रगत देख्दा बेहोस हुँलाझैं भयो। तर, हिम्मत नहारी भिडिइरहें।’

बाघका अगाडिका खुट्टाको पञ्जाको प्रहार रोक्न उनलाई सकस भयो। देब्रे हात बाघले मुखमा हालेपछि उनले दाहिनेले त्यसको घाँटी अठ्याए। बाघले हातमै आक्रमण गर्‍यो। बाघको अगाडिको खुट्टा टोकेर उनले बाघलाई लडाए। कम्मरमा बाँधेको खुर्पेटोबाट हँसिया निकालेर हान्न थाले। त्यसपछि मात्र बाघ भागेको उनले सुनाए।

प्रकाशित मिति: : 2019-07-01 08:25:11

प्रतिकृया दिनुहोस्