लोकदोहोरीमा एकोहोरिँदै युवा

शिवहरि घिमिरे

एक जमाना थियो, लोकदोहोरी गीत भनेपछि युवाहरू मुन्टो बटारिहाल्थे। यस्तो रुवाउने गीत पनि सुन्ने हो भन्दै खिल्ली उडाउँथे। तर, अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

पहिले र अहिलेका लोकगीतको स्तर मापन गर्दा शैलीमा आमूल भिन्नता छ। पहिलेका लोक गीत अलि विरह लाग्ने खालका हुन्थे। त्यसैले सीमित व्यक्तिले मात्रै सुन्थे। अहिलेका मानिस लोकगीतभित्रको त्यो विरह रुचाउँदैनन्। मौलिक र हल्का रमाइलोे लय पक्रिएर बनेका गीत अहिले सुनिन थालेका छन्। लोकगायक बद्री पंगेनी लोकगीत नेपालको संस्कृति रहेको बताउँछन्। पछिल्लो पुस्ताका गायकले लोकगीतप्रतिको युवाको चाहना मेटाउने प्रयास गरेको उनको भनाइ छ। नारायण गोपालदेखि अहिलेका लोकगायकसम्मले लोकगीतलाई रोजेको पंगेनी बताउँछन्। ‘बरु अरु भाकाका गीत बजारमा आउने र अस्ताउने भइरहे । तर, लोकगीतको मार्केट कहिल्यै पनि खस्किएन,’ उनी भन्छन्, ‘अहिलेका युवाले गाएका गीत चलेका छन्। प्रस्तुति शैली मजबुत भएकाले ती गीतले बजार पनि तताउँछन्।’

उनले प्रविधि र माध्यम फेरिएपछि गीत–संगीतको बजारमा झन् चुनौति थपिएको बताए। ‘बोल माया’ बोलको गीतपछि ‘गलबन्दी’ गीतबाट चर्चा कमाएका प्रकाश सपूत अहिलेको म्युजिक क्रिएसन एडभान्स बनेको बताउँछन्। समय घुम्दै–फिर्दै लोकगीततिर ढल्किएकाले पछिल्लो समय लोकगीत बढी चलेको उनको भनाइ छ। ‘राष्ट्रिय भावना जागृत ल्याउने गरी बनेका गीतको मार्केट छ,’ उनी भन्छन्, ‘प्रविधिले रहेक कुरालाई सटिक बनाएको छ। गीतमात्रै होइन, केही कुरा हरर आएर भाइरल भइदिन्छन्, केही छिनमै हराउँछन्, यो पनि प्रविधिको असर हो।’ उनी गम्भीर विषयलाई उठान गरेर गाएका गीत धेरै समय नटिक्ने तर्क राख्छन्। तान्ने खालको कन्टेन्ट र मेलोडी मेकिङका कारण लोकगीत सर्वश्रेष्ठ सुनिन थालेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-06-29 12:50:05

प्रतिकृया दिनुहोस्