मेयरलाई मन्त्रिपरिषदबाट ३० लाख क्षतिपूर्ति, उही घटनाका घाइतेले गोली निकालेको खर्च पनि पाएनन् ।

आन्द्राभुँडी बाहिर निस्किएका थिए, मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुमबासी मजदुर मणि नेपाली ब्युँतिए, तर उपचारमा लागेको ऋणले थिचिएका छन् । उनी भन्छन् :

इलाम दानाबारीको मान्छे हुँ, बिर्तामोडमा बस्छु । मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु । इलाममा मेरो केही छैन । बिर्तामोड आएर घर बनाउने काममा लागेको थिएँ । ०७४ कात्तिकमा यतैको एक बालक पोखरीमा मृत भेटिएपछि आन्दोलन सुरु भयो । तर, म मजदुरी गरेर खानुपर्ने, आन्दोलनमा पनि जान पाइनँ । सहकारीको एउटा भवन बन्दै थियो, त्यहीँ काम गर्दै थिएँ । १० कात्तिकको दिन दिउँसो खाजा खान कोठातर्फ जाँदै थिएँ । बाटोमा आन्दोलन चलिरहेको थियो । एक्कासि म भएकै ठाउँमा झडप सुरु भइहाल्यो । मेरै अगाडि नरेश थापा भन्ने मान्छे गोली लागेर ढले । त्यो देखेपछि भाग्न थालेँ । त्यहीवेला मलाई पनि गोली लाग्यो । 

गोलीले ढले पनि होसमै थिएँ । मलाई गोली लाग्यो, मलाई बचाओ भन्दै कराउन थालेँ । स्थानीय जनता मेरो उद्धारमा आएका थिए, प्रहरीले उनीहरूलाई लखेट्यो । मेरो कपाल त्यसवेला लामो थियो । प्रहरीले कपालमा समातेर घिसार्दै लग्यो । त्यतिन्जेलसम्म नरेशको मृत्यु भइसकेको थियो, यो पनि मर्‍यो भन्ने ठानेर मलाई नरेशको शवसँगै राखेछन् । मेरो पनि होस आउँदै–जाँदै थियो ।

प्रकाशित मिति: : 2019-06-26 09:48:57

प्रतिकृया दिनुहोस्