युवती ‘हत्या’ प्रकरणमा समताका संस्थापक उत्तम सञ्जेल पक्राउ

तस्बिरः नेपालखबर

समता स्कूल एवं अस्पतालका संस्थापक उत्तम सञ्जेललाई प्रहरीले पक्राउ गरेको छ। बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा मृत भेटिएकी रामेछाप दोरम्बाकी कर्मचारी बिमला तामाङको घटना अनुसन्धान गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले तामाङको साथमा भेटिएको ‘सुसाइड नोट’का आधारमा समता समूहका अध्यक्ष, उनीकी पत्नी र अन्य दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ। ‘बिमलाको खल्तीमा भेटिएको सुसाइड नोटमा सर र म्याडम भनेर सम्बोधन गरिएको छ’, अनुसन्धानमा संलगन एक प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘यसले घटनाको पृष्ठभूमिमा उहाँहरु रहेको देखाउँछ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनलाइ सुरक्षा दिन नियन्त्रणमा लिइएको जानकारी दिए। बिमलाको 'सुसाइड नोट'का विषयमा अनुसन्धान भइरहेको उनले बताए। 'उत्तमसहित केही ब्यक्तिहरुलाई सुरक्षा खतरा रहेको विश्लेषणपछि प्रहरीले आफूसँग राखेको हो', उनले भने।

बिमलाले आत्महत्या गरेको नभइ हत्या भएको स्थानीयको दाबी छ। घटनाको प्रकृति नियालेका स्थानीयले हत्या प्रकरणमा सञ्जेलमाथि कारवाही माग गर्दै प्रदर्शन गरेका छन्। 

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत बिमलाको शव मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको थियो। उनी अस्पतालकी सफाइ कर्मचारी थिइन्।

अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले सो विषयमा निष्पक्ष छानबीनको हुनुपर्ने एवं संस्थापक सञ्जेलमाथि अनुसन्धान गरिनुपर्ने माग राखेका थिए। घटनापछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो। घटनाको विषयलाइ लिएर सर्वसाधारणले दिभरि बिरोध प्रर्दशन गरेका छन्।

उत्तम सञ्जेल १०० रुपैयाँ शुल्कमा विद्यालय शिक्षा उपलब्ध गराउने अभियानका अगुवा हुन्। लामो समयसम्म अविवाहित रहेका उनले गत वर्ष मात्र विवाह गरेका हुन्। यसअघि उनले इलाममा  जिल्ला शिक्षा कार्यालयमा दर्तै नगरी समता स्कूल सञ्चालन गरेको थिए। धेरै विवादमा मुछिए पनि उपल्लो तहमा सेटिंग मिलाएर उनी जोगिने गरेका छन्। 

सञ्जेललाइ गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो नेतृत्वको व्यापारिक समूहको साथ र सहयोग छ। सोही व्यापारी समूहको पृष्ठपोषणमा उनको सकारात्मक प्रचार हुने गरेको छ।

प्रकाशित मिति: : 2019-06-18 18:31:02

प्रतिकृया दिनुहोस्