काठमाडौँमा विप्लवको विस्फोट प्रकरण : घाइतेलाई आईसीयूमै प्रहरीले 'टर्चर' दिएको आफन्तको गुनासो [भिडियो]

तस्बिरः नेपाललाइभ

 

काठमाडौँ- जनजीवन नै त्रस्त बनाउने गरी गएको जेठ १२ गते काठमाडौँ उपत्यकामा शृंखलावद्ध विस्फोट भए। 

आफैले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटका घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४ कार्यकर्ताको मृत्यु भयो। 

विस्फोटमा विभुराम विक, निरन्तर मल्ल, गोकुल रानामगर र प्रज्वल शाहीको मृत्यु भएको थियो।

त्यस्तै घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने रविन केसी घाइते भएका थिए। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ, कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भए। उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। थानकोटमा विक्रम लामा घाइते भए। उनको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 

आफन्तको गुनासो- घाइतेमाथि प्रहरीले टर्चर दियो
तर, उक्त विस्फोटका घाइतेका परिवारले आफूहरु र उपचाररत घाइतेलाई समेत प्रहरीले मानसिक तनाव दिइरहेको अरोप लगाएका छन्। 

घाइतेका आफन्तले उपचार गर्न पाउने संविधान प्रदत्त अधिरका समेत हनन् गर्दै प्रहरीले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै गएर ‘टर्चर’ दिइरहेको गुनासो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर गरेका छन्। घाइतेलाई मात्रै होइन आफूहरुलाई समेत बिनाकारण विप्लवसँग जोडेर मानसिक तनाव दिइरहेको उनीहरुको गुनासो छ। 

विस्फोटमा घाइते भएका हरिबहादुर खड्काका छोरा जीवन खड्काले पत्रकार सम्मेलनमा आफ्नो बुवालाई बिना कारण विप्लवको पार्टीसँग जोडेको गुनासो पोखे।

‘एउटा समान्य मान्छे कपाल काट्न जान्छ,’ उनको आक्रोस छ, ‘त्यहाँ कपाल काटेर फर्किदै गर्दा बिस्फोट भएर सिधै अस्पताल ल्याइन्छ भने उहाँलाई विप्लवको कार्यकर्ता कसरी भन्न मिल्छ?’ 

प्रकाशित मिति: : 2019-06-17 09:35:47

प्रतिकृया दिनुहोस्