सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

तस्बिरः नयाँ पत्रिका

बिपी जेल बसेको सुन्दरीजलबाट माटो बोकेर शुक्रबार कोइरालानिवास  विराटनगर पुगेका करिब दुई सय कार्यकर्ताले आँगनमा ढोगे

३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए । कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे । बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ । 


यहाँ आइपुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ । मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन् ।कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरे । तर, सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ । सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो । 

कांग्रेस कार्यकर्ता कोइरालानिवासलाई आस्थाको धरोहर तीर्थस्थल मान्छन् । तर, कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेका छन् । सुरुमा कोइरालानिवास दुई बिघाजति जमिनमा फैलिएको थियो । कृष्णप्रसाद कोइरालाका पाँच भाइ छोरामध्ये मातृकाप्रसादले आफ्नो अंश पहिल्यै लिइसकेका थिए । विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारणीप्रसाद र गिरिजाप्रसादले अंशमा ८–८ कट्ठा पाएका थिए । तिनका सन्तानहरूले जग्गा बेच्दै गएका छन् भने बेचिएका जग्गामा ठुल्ठूला घर बन्न थालेका छन् ।

त्यसैले कोइरालानिवासको दिनदिनै रूप गुम्दै गएको छ । निवासको बाटो मात्र होइन पूरै सौन्दर्य छेकिदिएको छ । पहिले एउटै रहेको निवासमा अब आउनेजाने बाटोसमेत अलगअलग भएको छ । सुजाताले आफ्नो भागमा परेको जमिनमा बुबा गिरिजाप्रसादको नाममा जिपी फाउन्डेसन खोलेर तीनतले भवन बनाइसकेकी छिन् । यो भवनले कोइरालानिवासको पुरानो मुख्य भवन नै छेकिदिएको छ । उनले जिपी संग्रहालय पनि बनाउँदै छिन् । 

 

प्रकाशित मिति: : 2019-06-17 09:30:45

प्रतिकृया दिनुहोस्