‘प्रदेश सरकारको उपस्थिति देखाउने बजेट आओस्’

प्रदेश १ को राजधानी विराटनगरको प्रवेशद्वार ।

विराटनगर – विराटनगरको महेन्द्र चोकमा पान पसल गरेर बस्ने गीता दहाललाई प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गर्दैछ भन्ने कुरा थाह छैन।

संघीय संसदको बजेटबारे थाह पाएकी उनले प्रदेश सरकारको बजेटबारे अहिलेसम्म जानकारी पाएकी छैनन्। तर प्रदेश सरकारले आफ्नो उपस्थिति देखाउने किसिमको बजेट ल्याउनुपर्ने उनको भनाई छ।

उनले भनिन्, ‘जनताले थाह पाउनुपर्ने किसिमको कामका लागि बजेट चाहिएको छ।’

विराटनगरमै इ-रिक्सा चलाउने गंगा सहनीलाई पनि प्रदेश सरकारले बजेट ल्याउँछ भन्ने कुरा थाहा पाएनन्। कस्तो बजेट चाहिएको छ भन्ने जिज्ञासामा उनले जनतालाई विकास चाहिएको बताए।

सहनीले भने, ‘प्रदेश सरकारले कुन कुन क्षेत्रमा विकास गर्छ भन्नेबारे जनतालाई थाह नभएको अवस्थामा कस्तो बजेट चाहिएको भन्ने कुराको उत्तर मसंग छैन। यति हो संघीय सरकार होस् वा प्रदेश सरकार जनतालाई विकास दिनुपर्यो। जनताले कार्यक्षेत्र जान्दैनन्।’

विगतको एक बर्षमा प्रदेश सरकारले खासै काम देखाउन नसकेको भन्दै प्रदेश १ का सर्वसाधारण तथा व्यवसायीले प्रदेश सरकारको उपस्थिति देखिने किसिमको बजेट चाहिएको बताएका हुन्।

प्रदेश १ सरकारले आइतबार बजेट सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे प्रदेश संसदमा अर्थमन्त्री इन्द्र आङबोले करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछन्।

प्रकाशित मिति: : 2019-06-16 10:19:18

प्रतिकृया दिनुहोस्