विवादित क्याप्टेन अवालेलाई जहाज उडाउन दिने तयारी

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट एक वर्षअघि झन्डै १ करोड रुपैयाँ जरिवाना तिराइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले नियामक निकायको निर्णय आउनुअघि नै पुनः जहाज उडाउने तयारीमा लागेका छन्।

निगमका वरिष्ठ क्याप्टेन अवालेले ‘आफू दक्ष पाइलट भएको, आफ्नो लाइसेन्स नवीकरण नभए वायुसेवा निगम र मुलुकलाई ठूलो आर्थिक भार’ पर्ने भन्दै २०७५ वैशाख २० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्याधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाले गत जेठ ७ गते ‘क्याप्टेन सुवर्ण अवालेको उडान अनुमतिपत्र अद्यावधिक हुनुपर्ने वा नपर्ने विषयमा स्पष्ट कानुनी आधार प्रमाण खुलाई अविलम्ब निर्णय गर्नू’ भनी उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा परमादेश जारी गरेको थियो।

सम्बद्ध अधिकारीहरूका अनुसार यही परमादेश टेकेर क्याप्टेन अवाले आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराउने तयारीमा तीव्र गतिमा लागेका छन्। पछिल्ला केही दिनदेखि अवाले निगममै रहेर लाइसेन्स नवीकरणअघि लिनुपर्ने तालिममा व्यस्त छन्। उनले गएको साता ‘ककपिट रिसोर्स म्यानेजमेन्ट’ (सिआरएम) तालिम लिइसकेका छन्। अब उनी ‘इभ्याकुएसन,’ ‘मेडिकल’, ‘रिफ्रेसर कोर्स’ जस्ता तालिम लिने तयारीमा छन्।

प्रकाशित मिति: : 2019-06-16 10:13:20

प्रतिकृया दिनुहोस्