तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडाैं - झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ। साताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर उनी काम चलाउ सरकारकी प्रमुख भइसकेकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन। बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको बेलायती महारानीसँग पनि भेट हुन सकेन। बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रूपमा लिने गरिन्छ।

कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमण महारानीसँगसमेत भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहरू गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्वताको परिणाम भएको बताउँछन्। प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ।

कूटनीतिक मामिलाका जानकार मदनकुमार भट्टराई नेपाल र बेलायतको सम्बन्ध धेरै पुरानो र विशिष्ट किसिमको भएको बताउँछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला महारानीसँग भेट हुन नसक्नुलाई पर्याप्त तयारीको अभाव भन्छन्। ‘पर्याप्त तयारी भएको भए बेलायती महारानीले नेपालका प्रधानमन्त्रीलाई भेट नदिने भन्ने कुरा हुँदैनथ्यो,’ उनले भने।

प्रकाशित मिति: : 2019-06-14 09:29:52

प्रतिकृया दिनुहोस्