अध्यक्ष दाहाल – वाङ् भेटः नेपाल–चीन सम्बन्धबारे छलफल (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्।

होटल मेरियटमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए।

भेटपछि उनले भने, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए।

भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो। “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवर्दक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ।”

भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताए। चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्धत पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताए। भेटमा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: : 2019-09-10 13:46:21

प्रतिकृया दिनुहोस्