एनआरएनएमा उम्मेदवारी शुल्कमा भारी वृद्धि : अध्यक्षका लागि १० लाख, उपाध्यक्ष र महासचिवका लागि ६ लाख

तस्बिरः बिएल

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आगामी नेतृत्वको लागि उम्मेदवारी दर्ता शुल्क दोब्बरले बढेको छ।

आगामी असोज २८ गते देखि ३० गतेसम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनपछिको नेतृत्वका लागि पदाधिकारीको उम्मेद्वारी दर्ता शुल्कमा भारी वृद्धि गरिएको हो।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसको आधारमा शुक्रबार बसेको निर्वाचन समितिको बैठकले नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार मनोनयन शुल्क वृद्धि गरेको हो । जसमा अध्यक्षदेखि आईसीसी सदस्यसम्मको शुल्क दोब्बरभन्दा पनि धेरैले बढाइएको छ।

अब अध्यक्ष पदमा उम्मेदवार बन्नका लागि १० लाख रूपैयाँ आवश्यक पर्ने भएको छ।

उपाध्यक्ष तथा महासचिवका लागि समान ६-६ लाख रुपैयाँ तोकिएको छ। यस्तै सचिव तथा कोषाध्यक्षका लागि ५ लाख र सहकोषाध्यक्षका लागि ४ लाख रुपैयाँ आवश्यक पर्नेछ।

निर्वाचन समितिले महिला तथा युवा संयोजकका लागि ३ लाख ५० हजार, क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उपसंयोजकका लागि २ लाख ५० हजार, क्षेत्रीय महिला तथा यूवा संयोजकमा २ लाख ५० हजार रुपैयाँ र आईसीसी सदस्यहरुका लागि १ लाख रुपैयाँ दर्ता शुल्क तोकेको छ।

यसअघि सन् २०१७ मा अध्यक्षमा उम्मेदवारी दिनेले चार हजार पाँच सय सय अ‍ेमेरिकी डलर तिर्नुपर्थ्यो । त्यस्तै, उपाध्यक्ष तथा महासचिवका उम्मेद्वारले तीन हजार सात सय ५०, सचिव तथा कोषाध्यक्षले तीन जार, सहकोषाध्यक्षले दुई हजार छ सय २५, महिला, युवा तथा क्षेत्रीय संयोजकले दुई हजार दुई सय ५०, क्षेत्रीय उपसंयोजकले एकहजार पाँच सय, महिला तथा युवा क्षेत्रीय उपसंयोजकले एक हजार र आईसीसी सदस्यले एक हजार अमेरिकी डलर तिर्नुपर्ने थियो ।

प्रकाशित मिति: : 2019-09-10 10:03:39

प्रतिकृया दिनुहोस्