तातोपानी नाका : उद्घाटन भयो, सञ्चालनमा आएन

रोयल आचार्य

२७ जेठ, काठमाडौं । तामझामले उद्घाटन गरिएको नेपाल-चीन तातोपानी नाका अझै सञ्चालनमा भने आउन सकेको छैन । उद्घाटनपछि एउटा पनि कन्टेनर यस नाकाबाट आवतजावत नभएको पाइएको छ ।

नेपालतर्फ भन्सार कार्यालय तयार नभएकाले उद्घाटन भएको दुई सातासम्म नाका सञ्चालनमा आउन नसकेको हो । रातो कार्पेट बिछ्याएर भव्यरुपमा उद्घाटन समारोह आयोजना गरिएको थियो । २०७२ सालमा गएको भूकम्पपछि भौतिक संरचना भत्किएका कारण बन्द तातोपानी नाका १५ जेठमा उद्योगमन्त्री मात्रिका यादवले उद्घाटन गरेका थिए ।

उद्घाटनका बेला औपचारिकताका लागि कन्टेनर ओहोर-दोहोर गरिएको बाहेक नाका सञ्चालनमा आउन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । औपचारिकताका लागि नाका उद्घाटन गरिए पनि राम्रोसँग सञ्चालनमा आउन अझै डेढ महिना लाग्न सक्ने उनको भनाइ छ ।

चीन सरकारले आफ्नै लगानीमा नेपालका लागि सुख्खा बन्दरगाह बनाइदिएको छ । तर बन्दरगाहमै रहने भनिएको भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरहरु व्यवस्था अझै गरिएको छैन । फर्निचरहरु व्यवस्थापनका लागि भन्दै नेपालस्थित चिनियाँ दूतावासमा आग्रह गरिएको छ । हालसम्म फर्निचर आइनपुगेको बस्नेतले बताए ।

प्रकाशित मिति: : 2019-06-11 14:19:00

प्रतिकृया दिनुहोस्