विप्लवलाई छाडेका पदम राईको प्रश्न- बम र बन्दुक पड्काएर पुग्ने ठाउँ कहाँ हो?

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेर केही दिनअघि सत्तासीन दल नेकपामा प्रवेश गरेका पदम राई। | तस्वीर:रिवाज राई

०६३ सालमा अन्तरिम संसद्मा माओवादी पनि आएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन्– पदम राई। ०६४ सालको चुनावमा भोजपुरबाट निर्वाचित संविधानसभा सदस्य उनी पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत नेकपाका पोलिट्व्युरो सदस्य थियो। 

भूमिगत नेकपा त्यागेर सत्तारुढ नेकपा प्रवेश गरेको एक सातापछि भेट्दा उनी निकै भावुक देखिए। पार्टीभित्र बन्दूक र बारुदको दबदबा बढ्न थालेपछि लगातार वार्ताको कुरा उठाए– उनले। राजधानी बसेका कारण आफ्नै पार्टीबाट सिआईडीसम्मको आरोप पनि खेपे। कम्युनिष्ट पार्टीका लागि जीवनको ३४ खर्च गरेको बताउने ५३ वर्षीय राईले भावुक हुँदै भने, ‘यदि मलाई विप्लवका मान्छेले मारे भने मरिदिउँला, यो पनि एउटा इतिहास बन्छ।’ 

दोस्रो संविधानसभाले संविधान लेख्दै गर्दा उनी काठमाडौंमै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै थिए। भोजपुरको साविक बोया गाविसका स्थायी बासिन्दा हुन् उनी। कम्युनिष्टले जनताबाट चन्दा उठाएर खाने प्रवृत्तिको विरोध गर्छन्। ‘नेपालको पूर्वी समाज पूँजीवादी छ तर पश्चिम नेपालको समाज सामन्तवादी छ। त्यसैले हामी कुरा उठाउँछौँ, सुन्न पनिसक्छौँ तर विप्लवजी सुन्न सक्नुहुन्न’, उनले तीतो अनुभव सुनाए, ‘उहाँहरू आफ्नो आदेश पालना गर्नु कार्यकर्ताको कर्तव्य बुझ्नुहुन्छ।’'राजनीतिक जीवनमा जम्मा नौ पटक पक्राउ परेको बताउँदै उनले भने, ‘तीमध्ये सात पटक चाहिँ विप्लवजी नेतृत्वको नेकपामा हुँदा पक्राउ परेँ।’ राईसँग उनकै निवासमा काठमाडौंप्रेसका माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता :

तपाईँ त तत्कालीन नेकपा माओवादी संशोधनवादी भयो, क्रान्तिबाटै आमूल परिवर्तन गर्ने भनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा लाग्नुभएको थियो। अहिले किन मन फेरियो र फेरि सत्तारुढ नेकपामै फर्किनुभयो ?

जुन उद्देश्यले हामीले विप्लवजीको नेतृत्वमा पार्टी बनायौँ र अगाडि बढ्यौँ। पछिल्लो चरणमा त्यो उद्देश्यअनुसार चल्न छाडेपछि केही छलफल सुरु भो। पार्टी सही ढंगले लक्ष्यतिर उन्मुख हुनुभन्दा अलि दायाँबायाँ मोडिएर ‘जिक्ज्याक’ हुन थाल्यो। पार्टी छाड्नुपर्ने अवस्थामा पुगेँ म। 

कम्युनिष्ट राजनीति गरेको ३४ वर्ष भयो। पछिल्लो समयमा त कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति, युद्ध, संघर्ष र विद्रोह गरेर जनताको लागि केही गर्ने अपेक्षासहित पार्टी बनाएका थियौँ तर त्यो पुरानै कुराको पुनरावृत्तितिर लाग्यो। 

वर्ग शत्रुलाई सफाया गर्ने अनि जनसत्ताको विकास गर्ने भन्ने विप्लवजीको बाटो उचित लागेन ?

शत्रु भनेको को ? आफूलाई मन नपर्ने सबैलाई शत्रु भनेर हुँदैन। मन पर्ने जति मित्र, साथी र सहयोद्धा अनि मन नपर्नेबित्तिकै शत्रु भन्ने नेपाली राजनीतिमा जुन छ, म त्यो पक्षमा छैन। 

मानौँ, म पनि सही र असल हुँला तर म मात्र असल हैन। पार्टीमा असल अरु पनि छन्। हाम्रो पार्टीमा मात्र हैन, अरु पार्टी र समाजमा पनि असल र इमान्दार मान्छे छन् भनेर म बुझ्छु। मैले बुझ्छु– म र मेरो पार्टीमात्र राम्रो हैन। उद्देश्य जे राखेर पार्टी बनाइयो, भएन। नभएपछि के गर्ने त अब ? 

प्रकाशित मिति: : 2019-06-11 07:40:20

प्रतिकृया दिनुहोस्