तीनजना प्रधानमन्त्री जन्माएको निवासमा सय वर्षपछि लाग्यो ताला

प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ मा एकसय वर्षको अवधिमा गत बिहीबार पहिलो पटक ताला लागेको छ ।  सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णइ गरेपछि कोइराला निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि हटेका हुन् । त्यसपछि निवासमा ताला लगाउनु परेको हो । 

एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएकोले निवासको छुट्टैमहत्व छ । पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई जनताको वास्तविक अवस्था देखाउन यही निवासबाट फाटेको भोटो पार्सल गरेर पठाएका थिए ।

प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहीँबाट फुकिएको थियो । तीन जना प्रधानमन्त्री जन्माउने यो निवास अहिले आगन्तुकका लागि घुम्ने र बुझ्ने स्थानको रुपमा विकसितसमेत भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्,‘‘खुला संग्रहालय मानिएको कोइराला निवासबाट सुरक्षाकर्मी हट्नु दुःखद हो । सुरक्षाका लागि सानो समूह भएपनि राख्नै पर्छ ।’’

तर, गत बिहीबारबाट सुरक्षाकर्मीहरु एक्कासि हटाइएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । उनले भने, ‘‘यसबारे डा. शेखरले गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउनु भयो तर सुनुवाई भएन । मैले पनि सशस्त्र प्रहरीका डीआईजीलाई पनि भनें ।’’ सुरक्षाकर्मीको उपस्थिति हुँदा निवास सुरक्षित भियो । हटेपछि ऐतिहासिक धरोहर मानिएको निवासमा ‘असुरक्षा’ महसुस भएको थपलियाले बताउँछन् । उनका अनुसार निवासमा हेरालु छैनन् । यसमा भएको ऐतिहासिक वस्तुको संरक्षण गर्न कठिन देखिएको छ । 

निवासमा पूर्वप्रधानमन्त्रीहरुका धेरै सरसामान जस्ताको तस्तै राखिएको छ । ऐतिहासिक सामान संग्रहित छन् । चोरी होला वा के होला ? भन्ने चिन्ता थपिएको बताउँदै थपलियाले भने,‘‘यसबारे स्वयम् डा. शेखर कोइराला पनि चिन्तित हुनु भएको छ ।’’ 

२०५४ सालमा घर पछाडिबाट माओवादीले बम हानेपछि कोइराला निवासमा सुरक्षार्थ सुरक्षाकर्मी खटाइएको थियो । निवास परिसरमै सुरक्षाकर्मी बस्न क्वाटर तथा अलग्गै भान्साको समेत व्यवस्था गरिएको थियो । यो घटनापछि सशस्त्र प्रहरीका असइको नेतृत्वमा एक दर्जन सुरक्षाकर्मी निवासको सुरक्षामा थिए । सुरक्षाकर्मी हटाइएकोबारे स्थानीय प्रशासनलाई भने कुनै जानकारी गराइएको छैन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले यसबारे जानकारी नभएको बताए । 

प्रकाशित मिति: : 2019-06-03 09:36:31

प्रतिकृया दिनुहोस्