मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार

साढे तीन तलाको स्वीकृति, ११ तलाको होटेल
  • पोखराको होटेलमै पुगेर पनि उद्घाटन नगरी फर्किए प्रधानमन्त्री, ताम्रपत्र अनावरण भएन
  • उद्घाटन मञ्चमा एक घन्टा पर्खिएर फर्किए युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा
  • उपराष्ट्रपति नन्दबहादुर पुनले यसअघि यस्तै विवादास्पद होटेलको उद्घाटन गरेका थिए

प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थल उत्रिएका थिए । त्यसपछि उनी सीधै लेकसाइडस्थित होटेल स्विस इन्टरनेसनल पुगेका थिए । तर, मापदण्डविपरीत बनेको होटेल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन् । 

प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए । प्रधानमन्त्रीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखसमेत होटेल पुगेका थिए । प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे । त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।

प्रकाशित मिति: : 2019-06-02 06:36:26

प्रतिकृया दिनुहोस्