कोही किन विप्लव बन्छ?

माओवादी ‘जनयुद्ध’ कालमा जनमुक्ति सेनामा रहदा र सेनाबाट विदाई भएपछि गोकुल राना मगर (दुई फोटो मिलाइएको हो)

काठमाडौं, जेठ १७ : पूर्व माओवादी लडाकु गोकुल राना मगरले आफ्नो फेसबुकमा लेखेका रहेछन् – ‘केही गर्न सकिएन जिन्दगीमा....। निरन्तर प्रयासमा छु।’

गोकुलले फेसबुकमा आफूलाई ‘नयाँ युगको खोजीमा हिँडेका एक समरयात्री’ को रुपमा पनि चिनाएका रहेछन्। 

तर, उनको ‘नयाँ युग’ खोज्ने यात्रा हठात् टुङ्गियो। काठमाडौंको सुकेधारामा गत जेठ १२ गते भएको बम विष्फोटमा उनको मृत्यु भयो। 

त्यही दिन काठमाडौंकै घट्टेकुलोमा पनि विष्फोट भएको थियो। ती दुई विष्फोटमा परी दाङका ३१ वर्षीय गोकुलसहित बझाङका २७ वर्षीय प्रज्वल शाही, कालिकोटका २७ वर्षीय दिपेश विक र निरन्तर मल्ल भनिने एक युवक गरी चार जनाको मृत्यु भएको थियो। 

‘अनागरिक’

गृहमन्त्री रामबहादुर थापाको शब्दमा गोकुल राना मगर र उनीसँगै ज्यान गुमाउने अन्य तीन नेपाली युवा ‘नागरिक’ थिएनन्, कुनैबेला आफूसँगै ‘जनयुद्ध’ लडेका विप्लवका ‘कार्यकर्ता’ मात्रै थिए।

विष्फोटबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग ‘चार कम्पनी जनसेना’ रहेको पनि बताए। सुरक्षा स्रोतहरूका अनुसार, एक कम्पनीमा कम्तीमा सय लडाकुहरू हुन्छन्। 

प्रकाशित मिति: : 2019-06-01 12:35:56

प्रतिकृया दिनुहोस्