सबैलाई रिझाउने बजेट

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा ।

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको बजेट बुधबार संघीय संसद्मा प्रस्तुत गरेका छन्। चालु वर्षको बजेटको तुलनामा दुई खर्ब १७ अर्ब रुपैयाँले बजेटको आकार बढाएर उनले लोकरिझ्याइँका कार्यक्रम र अन्य विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरेका छन्। अघिल्लो बजेटले पार्टी घोषणापत्रलाई बेवास्ता गरेको तथा बजेटको आकारकै कारण प्रभाव जमाउन नसकेको भन्दै सत्तारूढ दलका सांसदले नै आलोचना गरेपछि यसपटकको बजेटमा अर्थमन्त्री थप उदार देखिएका छन्।

उनले वृद्धभत्ता तथा अशक्त/अपांग, एकल महिला र लोपोन्मुख जनजातिले प्राप्त गर्ने भत्ता प्रतिमहिना एक हजारका दरले बढाएका छन्। करिब २१ लाख जनसंख्याले यस्तो भत्ता लिँदै आएका छन्। यसबाहेक उनले तल्लो तहका कर्मचारीको २० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीको तलब १८ प्रतिशत वृद्धि गरेका छन्। कर्मचारी तलबका लागि चालु आर्थिक वर्षमा ११७ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएकोमा आगामी वर्षका लागि १४५ अर्ब रुपैयाँ खर्च हुने भएको छ।

 

प्रकाशित मिति: : 2019-05-30 07:31:28

प्रतिकृया दिनुहोस्