काश्मिर र अफगानिस्तानकाे विषयमा कुरा गर्न चिनियाँ परराष्ट्र मन्त्री इस्लामाबादमा

Agency

काश्मिरमा जारी विवाद र अफगानिस्तानबाट अमेरिकी सेना हट्ने विषयलाई लिएर त्रिपक्षीय वार्ताका लागि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले शनिबार पाकिस्तानको भ्रमण गरेका छन्। उनले शनिबार पाकिस्तानी समकक्षी शाह महमुद कुरेशीसँग काश्मिर मुद्धाको विषयमा वार्ता गरेको पाकिस्तानी मिडियाले जनाएको छ।

भेटघाटका क्रममा दुबै नेताहरू काश्मिरमा भारतको एकतर्फी कारवाहीले क्षेत्रीय सन्तुलनमा असर परेको कुरामा सहमत भएको बताइएको छ।

वाङ अफगानिस्तान मुद्धाका लागि पराराष्ट्र मन्त्रीस्तरीय त्रिपक्षीय वार्ताका लागि इस्लामाबाद पुगेका थिए। उनले पाकिस्तान र अफगानिस्तान दुबै समकक्षीसँग वार्ता गरेका थिए।

पाकिस्तान विदेश विभागले सार्वजनिक गरेको विज्ञप्तीमा द्धिपक्षीय वार्ता आपसी सम्बन्धलाई विस्तार गर्ने विषयलाई लिएर भएको बताएको छ। ‘विशेष गरेर काश्मिर मुद्धामा कुरा भएको थियो’, विज्ञप्तीमा भनिएको छ।

भारतले गत महिना जम्मु–काश्मिरलाई विशेष राज्यको दर्जा दिने धारा ३ सय ७० लाई निलम्बन गर्दै सिधै केन्द्रीय राजनीतिमा जोडिने बिल संसदबाट पास गराएपछि यो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

अफगानिस्तानको विषयलाई लिएर भएको बैठकमा अमेरिकी नाटो सेना चरणबद्ध रुपमा अमेरिका फर्किनु पर्नेमा सहमति बनेको थियो। अफगानिस्तानबाट अमेरिकी सेना घर फर्किने विषयमा तालिबान र अमेरिकाबीच आठ चरणमा कुरा भइसकेको छ भने वार्ता सकारात्मक दिशामा अगाडि बढी रहेको बताइएको छ।

तर, यसैबीच तालिबानले हिंसात्मक कार्यवाहीलाई पनि छोडेको छैन।

 

प्रकाशित मिति: : 2019-09-08 08:19:57

प्रतिकृया दिनुहोस्