विकास र समृद्धिको मुख्य आधार पर्यटनः मुख्यमन्त्री राउत

तस्बिरः बिएल

प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन्। बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताएका हुन्।

प्राकृतिक, सांस्कृतिक र भौगोलिकरुपले नेपाल वैभवशाली भए पनि यिनको उपयोग ठीक ढङ्गले गर्न नसक्दा नेपालीको पछौटेपन हट्न नसकेको उनले बताए। मुलुकमा तीनै तहका सरकार बनिसक्दा पनि आपसी समन्वय हुन नसक्दा कामको मेसो नै समात्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ थियो। ‘हामीबीच राम्रो समन्वय हुन सकेको छैन’, उनले भने।

प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने अवधारणा बनाइएको उनले बताए।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताए।

प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, रामआशिष यादव र शारदादेवी थापाले नेपालको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए।

महासङ्घका प्रदेश २ संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताले नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी सबै क्षेत्रले समन्वयात्मकरुपले काम अघि बढाउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित मिति: : 2019-09-08 00:57:30

प्रतिकृया दिनुहोस्