नेपाली सेनाले बुझायो बारा र पर्सामा आफूले बनाएका ८६९ घरकाे साँचो

बिएल
रक्षामन्त्री ईश्वर पाेख्रेलले तीन तहका सरकारकाे उच्चतम सम्बन्ध रहेकाे बताएका छन्।
 
नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगन्जमा आयोजित हावाहुरी प्रभावितहरुको घर हस्तानन्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताको कारण बारा र पर्साका हावाहुरी पीडितहरुले घर पाएको कुरामा जोड दिए ।
 
'तीन तहका सरकारको उच्चतम समन्वयको कारण बारा, पर्साका हावाहुरी पीडितहरुको घर समयमै निर्माण भई हस्तनान्तरण गर्न सकिएको छ,' उनले भने, 'सरकारले देश र जनतालाई शिरमा राखेर काम गरिरहेकाे छ।'
 
पाेख्रेलले नेपाली सेनाले राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डताको रक्षा मात्र नभई विकास निर्माण र राज्यलाई बिपत परेको बेला सदैव देश र जनताका लागि योगदान पु-याउँदै आएको भन्दै सेनाकाे प्रशंसा गरे।
 
 
याे पनि पढ्नुहाेस। 
 
सरकार गठनपछि जनताले राखेका अपेक्षा पुरा नभएको गुनासो आउनु स्वभाविक रहेको बताउँदै अब जनतालाई दिएको बाचा र प्रतिबद्धता अनुरुप काम गरेर देखाउने बेला आएको छ उनले बताए।  मुलुकको स्थायित्व र विकासका लागि नभई नहुने कानुन निर्माण गर्ने प्रक्रिया लगभग सम्पन्न भएको उनकाे भनाई थियाे।
 
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनचाहना अनुरुप घर निर्माण सम्पन्न गरेको बताए। उनले उदाहरणीय काम गरेकाे सेनालाई धन्यवाद दिए। 'सेनाको कार्यकुशलताको बावजुद पनि हावाहुरी पीडितको केही घर निर्माणको क्रममा छुटेकाे छ,' उनले भने, 'छुटेका घरहरु संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने छ।'
 
कार्यक्रममा प्रधान सेनापति पुर्णचन्द्र थापाले चैत्र १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीले पु-याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशन अनुरुप सेनाले घर निर्माण सम्पन्न गरेको बताए।
उप प्रधानमन्त्री इश्वर पाेखरेल प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्दै।
 
 
सेनापतिले निर्माण भएका बाराका ८ सय ७ र पर्साका ६२ गरी ८ सय ६९ घरको साँचो पोख्रेललाई हस्तनान्तरण गरेका थिए भने उनले उक्त साँचाे मुख्यमन्त्री राउतलाई दिए ।
 
राउतले कार्यक्रम स्थलमै हावाहुरीबाट प्रभावित भई घर निर्माण गरिएका बाराका कलैया उप-महानगरपालिका, पचरौता र महागढीमाई नगरपालिका, फेंटा, सुवर्णपुर, प्रसौनी, परवानीपुर र देवताल गाउँपालिका तथा पर्साको वीरगन्ज महानगरपालिका, बहुदरामाई नगरपालिका र संखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरुलाई साँचाे बुझाएका थिए। उक्त साँचाे सम्बन्धित स्थानीय तहका प्रमुखहरुले आ-आफ्ना पालिकाका प्रभावित क्षेत्रमा पुगी विशेष कार्यक्रमको आयोजना गरी हस्तनान्तरण गर्ने नेपाली सेनाले जनाएको छ।
 
चैत्र १७ गते आएको विनाशकारी हावाहुरीको कारण बारा र पर्सामा गरि २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सय भन्दा बढी घाईते भएका थिए। हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएपछि चैत्र २१ गते बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकले हावाहुरी पीडितका लागि सरकार आफैले घर निर्माण गरिदिने निर्णय गर्दै सेनालाई जिम्मा दिएको थियो।
 
 
याे पनि पढ्नुहाेस।
 
सेनाले बारा र पर्सामा वैशाख २१ गतेबाट निर्माण कार्यको थालनी गरेको थियो। कूल १२ समूह बनाएर सैनिक र गैरसैनिक गरी छ हजार भन्दा बढी जनशक्ति घर निर्माणमा लगाइएको थियो। सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितकाे एउटा घर निर्माणकाे लागत ४ लाख ८५ हजार रहेको प्रतिवेदन पेश गरेको छ।
 
सरकारले एउटा घरका लागि पाँच लाख ४६ हजारका दरले रकम छुट्याएकाे थियो। कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गरेकाे छ। उक्त घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ। मितव्ययिता अनुरुप निर्माण गरिएका घरहरु प्राकृतिक प्रकोप प्रतिरोधी रहनुका साथै उच्चस्तरीय वातावरण मैत्री रहेको सेनाकाे दाबी छ।
 
प्रकाशित मिति: : 2019-09-04 18:43:56

प्रतिकृया दिनुहोस्