‘प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्छ’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्ने बताएका छन्।

मालदिभ्सको राजधानी मालेमा मङ्गलबारदेखि शुरु भएको ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्पारिक चुनौती’ विषयक चौथो हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुद्रिक स्रोतको उपयोग अन्तर्राष्ट्रिय कानूनअनुरुप हुनुपर्नेमा जोड दिए।

“समुन्द्रको प्रयोग शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय कानूनअनुसार हुनुपर्छ”, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “नेपालजस्ता भूपरिवेष्टित मुलुकसहित सबै देशबीच समुद्री स्रोतको उपयोग र त्यसको लाभ समावेशिता, साझेदारी एवं सहयोगमा आधारित हुनुपर्छ।” उनले हिन्द महासागरबाटै नेपालको व्यापार हुँदै आएकाले सुरक्षाका अपारम्परिक जोखिमप्रति आफ्नो देशको चासो रहेको बताए।

पहाडी राष्ट्र नेपालले व्यापार तथा पारवहनका साथै मानव आवागमनका निम्ति जल, स्थल र नभमार्गबाट हिन्द महासागरमा निर्वाध सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जानकारी दिँदै उनले जलवायु परिवर्तनका नकारात्मक असरले नेपाललाई नराम्ररी गाँजेको बताए। उनले अन्य हिमाली र टापु राष्ट्र पनि त्यसको चपेटामा परेको यथार्थप्रति सहभागीको ध्यानाकर्षण गरएका छन्।
सम्मेलनमा ४० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्व र विद्वत्वर्ग सहभागी छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-09-04 17:19:50

प्रतिकृया दिनुहोस्