देशलाई विकासको नयां युगतर्फ लैजाने समय आयो ः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विकासको नयाँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन्।
बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताए।

छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै प्रचण्डले भने, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ। नेताहरु विकासको नयां युगतिर जानुपर्छ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उनको भनाई थियो।
देशमै रोजगारी सिर्जना गरी विकासलाई नयां युगतिर लैजान जोड दिँदै अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासंगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे।

नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले यहां रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।
विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंग छलफल गरिने अध्यक्ष प्रचण्डले बताए।
त्यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताए। उनले अब यस खालका छलफल र बैठक नगर्न काम अघि बढाइने छ, भने। मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताए।

प्रकाशित मिति: : 2019-09-04 16:58:56

प्रतिकृया दिनुहोस्