आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्रीको आग्रह, उपचार अवधि लम्बियो

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन्।

सिङ्गापुरमा उपचार गराइरहेका उनले बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराए।

गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

यद्यपी शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केही लम्बिने भएको छ।

शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो।

प्रधानमन्त्री ओलीको उपचारअवधि लम्बिएपछि निजी चिकित्सक डा. दिव्यासिंह शाह बुधबार स्वदेश फर्किएकी छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउँदै मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ।’ ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रक्रिया अर्कोसाता सम्ममा पुरा हुनेछ। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ’ उनले भनिन्।

प्रधानमन्त्रीलाई तीन पटक प्लाज्मा फेरेसिस गरिएको छ। एक दिन बिराएर प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ समेत रहेकी डा. शाह स्वदेश फर्केपछि अर्का निजी चिकित्सक डा.दिलिप शर्मा सोमबार सिंगापुर गएका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए। यसअघि साउन १८ देखि २७ गतेसम्म प्रधानमन्त्रीले सोही अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

नेसनल किड्नी फाउन्डेसनले स्पष्ट पार्दै लेखेको छ, ‘प्लाज्मा फेरेसिसले रगतको फिल्टर गर्छ र रगतमा रहेको घातक एन्टीबडीलाई हटाउँछ । यद्यपि यो डायलेसिस जस्तै प्रक्रिया हो तर, विशेष गरी यसले रगतको प्लाज्मा अंशमा रहेका एन्टीबडी हटाउन यो विधिको प्रयोग गरिन्छ ।’

'प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिन (human albumin) ले रिप्लेस गर्नुपर्ने हुन्छ', डा. अग्रवालले भने, 'कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।'

अर्थात् रगतमा रहने पहेँलो तरल पदार्थ नै प्लाज्मा हो जसले शरीरका अरु भागमा रक्तसञ्चार गराउँछ। रगतमा रहन सक्ने दूषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले त्यस्ता घातक पदार्थ छुट्याएर रिप्लेस गर्ने अथवा रक्त शोधन सहित फेर्ने विधि नै प्लाज्मा फेरेसिस हो।

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ।

सिंगापुरको उक्त अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको शरीरमा गरिदै गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ।

यसले घातक तथा दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ । यो प्रक्रिया सम्पन्न भएसँगै उक्त रगत पुनः शरीरमा चढाइन्छ।  

दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीले यस अघि पनि पटक पटक काठमाडौं, दिल्ली, बैंकक र सिंगापुर जस्ता अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

सिंगापुरमा हुने उपचार कस्तो हो ?

यस अघिका उपचारहरुमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे खासै जानकारी नगराए पनि पहिलोपटक यो उपचारबारे उनी सिंगापुर जानेक्रममा औपचारिक जानकारी गराइएको थियो । 

प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचारका लागि सिंगापुर जान लागिएको प्रेस नोट जारी गरी यसबारे जानकारी गराएकी थिइन्।

प्रकाशित मिति: : 2019-08-29 00:16:32

प्रतिकृया दिनुहोस्