७० वर्ष माथि उमेर पुगेका नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट (भिडियोसहित)

तस्बिरः बिएल

सरकारले ७० वर्ष माथि उमेर पुगेका नागरिकले हवाई उडानमा ५० प्रतिशत छुट पाउने व्यवस्था गर्ने भएको छ।

सोमबार सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। मन्त्रालयले वार्षिक योजनामा सन् २०२० भित्रै त्रिभुवन विमानस्थललाई बुटिकमा रुपान्तरण गरिसक्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ।

यसैगरी विमानस्थलर्मा भिभीआइपी मोमेन्ट’को मापदण्ड बनाएर सम्माननियले मात्र जहाजको ढोकासम्म गाडी लैजान पाउने नियम लागू गर्ने जानकारी पनि मन्त्री भट्टराईलेदिए। उनले विमानस्थलको अध्यागमन, यात्रुसेवा, विश्राम स्थलमा सिसि क्यामरा राखी सेवाको निरन्तर अनुगमन गर्ने बताए।

आगामी तीन महिनाभित्र गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान थाल्ने तथा निजगढ बिमानस्थलको निर्माणकालागि लगानी बोर्डसँग छलफल अघि बढाउने योजना पनि मन्त्रालयको छ। मन्त्री भट्टराईले पोखरा बिमानस्थल निर्धारित समय अगाडि नै संचालनमा ल्याउने तथा सुर्खेत र भरत्पुर बिमानस्थल सुधार गर्ने तथा त्रिभुवन विमानस्थल नजिकैको रामेछापमा पनि विमानस्थल विस्तार गर्ने योजना सार्वजनिक गरे।

यसैगरी तीनकुने–गौशाला सडकमार्गको सुन्दरता बढाउने पनि यसै योजनामा परेको छ। विमास्थलमा यात्रुले आधा घण्टामै ब्यागेज क्लियरेन्स लिन सक्ने बनाउने पनि योजनामा छ। विमानस्थललाई २४ घण्टा संचालन गर्न बिभिन्न वायुसेवा कम्पनीहरुसँग छलफल भैरहेको पर्यटनमन्त्री भट्टराईले बताए।

ट्याक्सी लगायत हरियो प्लेटका गाडीमा जिपिएस सिस्टम लागू गर्ने, पर्यटकीय सवारीसाधन चालकलाई तालिम र पहिरन अनिवार्य गर्ने तथा विमानस्थलभित्रका पसलमा रहेका मूल्य नेपालीको हैसियत भन्दा माथी रहेका कारण प्रचलित निश्चित मूल्य निर्धारण गर्न लागिएको पनि उनले बताए।

मन्त्रालयले भक्तपुर र किर्तिपुर मा नाइट सम्पदा सफारी समेत संचालन गर्ने भएको छ। त्यस्तै बिभिन्न ऐतिहासिक सम्पदाको प्रचारप्रसारलाई व्यपकत्ता दिने पनि बताए। मन्त्री भट्टराईले नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने घोषणा पनि गरे।

प्रकाशित मिति: : 2019-08-26 18:05:05

प्रतिकृया दिनुहोस्