प्रधानमन्त्री आज अपराह्न उपचारका लागि सिंगापुर जाँदै

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली  थप स्वास्थ्य परीक्षणका लागि बिहिबार सिंगापुर जाने भएका छन्।

गत साता मात्र सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर फर्किएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत सिंगापुर जानेछन्।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन्।

अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही खुलाइएको छैन।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गराउने गरेका थिए।

प्रकाशित मिति: : 2019-08-22 08:58:59

प्रतिकृया दिनुहोस्