प्रदेशस्तरीय विश्वविद्यालय बनाउनेः मन्त्री घिमिरे

तस्बिरः बिएल

सभापतिहरु ६० लाखभन्दा बढीको सवारीमा सभासद्हरु पैदल हिँडनुपर्ने?

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन पोलिटेक्निक इन्स्टिच्युट प्रदेशस्तरीय मनमोहन प्राविधिक विश्वविद्यालय बनाउने बताएका छन्।

देश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ आज सदनमा प्रस्तुत गर्दै उनले सो जानकारी दिएका हुन्।

मन्त्री घिमिरेले मुलुकको विभिन्न विश्वविद्यालयको स्वरुप र ढाँचाभन्दा पृथक रहने मनमोहन प्राविधिक विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गर्ने धारणा राख्दै यो विश्वविद्यालय समुदायसँग पनि जोडिने बताए।

मन्त्री घिमिरेले नेपालको ख्यातिप्राप्त, भौतिक संरचना र मानवीय संशाधनका रुपमा अर्बौं सम्पत्ति रहेको यो संस्थासँग प्रदेश सरकारले साझेदारी अवधारणाबाट सञ्चालन गर्ने स्पष्ट पारे। उनले आधारभूत, माध्यमिक र उच्च तहका प्राविधिक जनशक्ति उत्पादन हुने यो विश्वविद्यालयलाई नयाँ नमूनाका साथ सञ्चालनमा ल्याउने हिसाबले यो विधेयक ल्याएको जानकारी दिए।

सैद्धान्तिक छलफल

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि आजदेखि सैद्धान्तिक छलफल शुरु भयो। छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले रोजगारी सिर्जना गर्ने, आर्थिक विकास गर्ने, निर्यात बढाउने र आयातलाई कम गर्न मद्दत गर्ने यो विधेयक पारदर्शिता झल्किने किसिमको हुनुपर्ने बताए।

सदस्य विमल कार्कीले यो विधेयकमा भएको व्यवस्थाहरु राम्रो भए पनि यसलाई अझ राम्रो बनाउन परिमार्जन गर्नुपर्ने बताए। सदस्य मोहनकुमार खड्काले उत्पादन र लगानीसँग सम्बन्धित यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमा लगेर दफावार छलफल हुनुपर्नेमा जोड दिए।

सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशको आर्थिक विकासमा प्रत्यक्ष सम्बन्ध राख्ने यो विधेयकबाट प्राधिकरण हटाउनुपर्ने सुझाव दिइन्। सदस्य सावित्री जोशीले यो विधेयकबाट प्रदेशको आम्दानीहरु बढाउन मद्दत गर्ने धारणा राखे।

शून्य समय

सदस्य श्रीप्रसाद मैनालीले राजश्वमा महत्वपूण भूमिका खेलिरहेको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन विधेयक आउनुपर्ने धारणा राखे।  सदस्य जयराम यादवले आज विश्व आदिवासी दिवस भएकाले सबैलाई शुभकामना दिँदै प्रदेशका मन्त्रीहरु विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिनुपर्ने माग गरे।

सदस्य नवोदिताकुमारी चौधरीले मोरङको बैजनाथपुर रङ्गशालामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने माग गरिन्। सदस्य प्रतापप्रकाश हाङगामले प्रदेशका विषयगत सभापतिहरु रु ६० लाखभन्दा बढीको सवारी साधन प्रयोग गर्ने र सभासद्हरु पैदल हिँडनुपर्ने यो कस्तो सामाजिक न्याय हो सभामुखसँग प्रश्न गरे।

प्रदेशसभाको अर्को बैठक साउन २६ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिइन्। रासस

प्रकाशित मिति: : 2019-08-09 16:09:54

प्रतिकृया दिनुहोस्