प्रदेश नं ३ : सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।

यसअघि प्रदेश सरकारले आफ्ना सम्पूर्ण प्रकाशनहरु मुद्रण विभाग काठमाडौँबाट  प्रकाशन गर्दै आएको थियो।  नीति तथा कार्यक्रम, बजेटलगायत सरकारलाई आवश्यक सबै प्रकाशन काठमाडौँबाटै छाप्नुपर्ने बाध्यता भोग्दै आए पनि अब भने हेटौँडाबाट नै छपाइको काम गरिने जनाइएको छ ।

प्रदेश सरकारको रातो किताबसमेत यहीँबाट प्रकाशन हुनेछ । जसका लागि आवश्यक उपकरण हेटौँडामा ल्याइसकिएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।

सरकारका प्रकाशन छाप्नका लागि ल्याइएको मेशिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको उनले बताए। उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताए। रासस

प्रकाशित मिति: : 2019-08-07 09:40:37

प्रतिकृया दिनुहोस्