इमरानले भने– ७० वर्षदेखि कश्मिर बन्धक बनेको छ

Agency

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कश्मिर मुद्धामा मध्यस्थता गर्ने भनाईप्रति भारतमा भइरहेको प्रतिक्रियालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आश्चर्य व्यक्त गरेका छन्। 

उनले ७० वर्षदेखि कश्मिर बन्धक बनेको, कश्मिरका जनताहरू पहिले पनि प्रत्याडित रहेको र अहिले पनि हरेक दिन प्रत्याडित बन्ने गरेको बताउँदै विवादको समाधान जरुरी भएको जनाएका छन्।

कश्मिर मुद्धामा अमेरिकी राष्ट्रपतिले मध्यस्थता गर्न इच्छुक रहेको बताएपछि भारतमा अहिले राजनीतिक माहौल बिग्रिएको छ। प्रतिपक्ष भारतीय कांग्रेसलगायतले दुई दिनदेखि संसद अवरुद्ध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको स्पष्टीकरण माग गरेका छन्।

ट्रम्पले दुई साताअघि भारतीय प्रधानमन्त्री मोदीले कश्मिर विवादमा मध्यस्थता गर्न आग्रह गरेको जानकारी पाकिस्तानी प्रधानमन्त्री इमरानलाई दिएका थिए।
उनले दुबै देशलाई इच्छाएको खण्डमा आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले ट्रम्पको भनाईमा सत्यता नभएको भन्दै संसदमा प्रतिपक्षीलाई अमेरिकी राष्ट्रपतिले झुटो बोलेको जानकारी गराइसकेका छन्। तर, प्रमुख प्रतिपक्षीलगायत अन्य दलहरू प्रधानमन्त्रीको मुखबाटै ट्रम्प झुटो बोलिरहेका छन् भन्ने सुन्न लालायित छन्।

इमरानले अमेरिकी मिडिया फक्स न्युज एजेन्सीलाई अन्तर्वार्ता दिने क्रममा अमेरिकाले सर्वाधिक खोजी गरिरहेको ओसामा बिन लादेनको सूचना आफ्नै गुप्तचर संस्था आइएसआईले दिएको बताएका छन्।

फोनमा उनले अमेरिकी गुप्तचर संस्थालाई सोधे पनि थाहा हुने बताए। यसअघि पाकिस्तानले यस कुरालाई अस्विकार गर्दै आइरहेको थियो। लादेनलाई २०११ को मे २ मा इस्लामाबाद नजिकै एबटाबादमा अमेरिकी नौसेनाको सिल कमाण्डोले मारेका थिए।

इमरानले ट्वीट गरेर राष्ट्रपति ट्रम्पलाई आश्वस्त पार्न अफगानिस्तानमा शान्ति स्थापनाका लागि पाकिस्तान सरकारले सक्दो मद्दत गर्ने बताएका छन्।
इमरानले यसअघि आफ्नो देशमा ४० वटा आतंकवादी समूह सक्रिय भएको पनि जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-24 16:59:48

प्रतिकृया दिनुहोस्