मन्त्री यादव पाइपलाइन निरीक्षणका लागि मोतिहारीतर्फ

Agency

वीरगन्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव मंगलबार पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन्।

सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी छन्।

वीरगञ्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी)  हुँदै भारततर्फ जाने क्रममा मन्त्री यादवले भन्सारका कर्मचारीहरुलाई निर्देशन दिने क्रममा कर्मचारीहरु राजश्व उठाउनेतर्फ सक्रिय हुनुपर्ने बताएका थिए।

उनले सङ्घीय सरकार क्रमागत रुपमा एकीकृत जाँच चौकीको पूर्वाधार विकासका लागि कटिबद्ध रहेको बताएको प्रमुख भन्सार अधिकृत श्यामप्रसाद भण्डारीले बताए।

‍मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । विहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएकाले अब उद्घाटनको पर्खाइमा रहेको  आयोजना कार्यालय सिमराले जनाएको छ ।

‘अमलेखगञ्जमा राखिएको ट्याङ्कीमा डिजल पठाउन पटनामा तयारी गरिएको छ र ‘स्वीच अन’ गरेपछि सो डिजल अमलेखगञ्ज आउनेछ’, आयोजनाका इञ्जिनीयर शरदकुमार पौडेलले भने।

यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो। पटनाबाट आइपुगेको डिजल गत शुक्रबार एक कार्यक्रमबीच परीक्षण गरिएको छ। शुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र एक हजार किलो लिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको छ ।

परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि विहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ। कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर लम्बाइ रहेको छ ।

विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौता अन्र्तगतको सो पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउने क्षमता रहेको छ । 

अमलेखगञ्जस्थित आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्याङ्कर निर्माण गरिएको छ। सो पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोक्ने प्रक्रिया शुरु भएको सिमरा कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: : 2019-07-23 16:21:36

प्रतिकृया दिनुहोस्