निर्मला हत्यालाई राजनीतिकरण गरियोः गृहमन्त्री थापा

तस्बिरः बिएल

गृहमन्त्री रामबहादुर थापा (बादल) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनामाथि राजनीतिकरण भएको दाबी गरेका छन्।

मंगलबार गृह मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्त हत्या तथा बलात्कार घटनालाई राजनीतिकरण गरिएको बताएका हुन्।

निर्मला पन्त प्रकरण जस्ता घटना दैनिक हुने गरेको भन्दै मन्त्री थापाले त्यस्ता घटनालाई निरूत्साहित पार्न सबै मिल्नुपर्ने बताए।

‘निर्मला पन्त जस्ता घटना हिजो पनि भएका थिए, आज पनि भएका छन्, यस्ता घटना भोलि पनि हुन्छन्, तर यस्ता घटनालाई न्यूनीकरण गर्न हामी सबै मिल्नुपर्छ,’ मन्त्री थापाले भने।

हत्या बलात्कार तथा जघन्य अपराध नियन्त्रण र अपराध अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गर्दै मन्त्री थापाले एकआध घटनाले गर्दा पुरै संगठनलाई बदनाम ठान्न नहुने तर्क गरे।

नेपालमा शान्ति हुँदैछ भन्ने शन्देश सबैतिर फैलिसकेको अवस्थामा अझ यसलाई उचाईमा पुर्‍याउने राज्यको सुरक्षा निकाए गम्भीर भएर लागेको भन्दै सानातिना घटनालाई जोडेर काममा बाधा पुग्ने खालका कुरा गर्न नहुने उनको तर्क थियो।

यससैबीच उनले सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबिच अनौपचारिक रूपमा वार्ता चलिरहेको बताईरहेका बेला सरकारका गृहमन्त्रीले यसको खण्डन गरेका छन्।

गृहमन्त्री राम बहादुर थापा (बादल) ले विप्लव समूहसँग वार्ताका बारेमा बाहिर आएको सबै कुरा गलत भएको दाबी गरेका हुन्।

प्रकाशित मिति: : 2019-07-23 13:55:13

प्रतिकृया दिनुहोस्