मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादल।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार यआयोजना गरेको ‘तालीम समापन समारोह’मा उनले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए।

‘सुढृढ र प्रविधियुक्त नेपाल प्रहरी निर्माण गर्न गृह मन्त्रालय लागेको छ’, उनले भने। गृहमन्त्री थापाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको बताए। उनले नेपाल प्रहरीले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे।

उनले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताए। नेपाल भ्रमण वर्ष सफल बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाउनु जरुरी रहेको उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालीमले सामाजिक योजना, व्यवस्थापन र सुधारका लागि रणनीतिक कौशल, दृष्टिकोण ज्ञान अभिवृद्धि गर्न सफल हुने बताए।  सो तालीममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता रहेको थियो। रासस

प्रकाशित मिति: : 2019-07-22 16:16:10

प्रतिकृया दिनुहोस्