
तीनकुने घटनामा एक पक्षलाई ‘दोषी’ देखाएर सरकार उम्कन पाउँदैन: रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले तीनकुने घट्नामा सरकारले एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले चार हजार मान्छे आएको उल्लेख गरेको बताउँदै त्यति संख्या पनि किन सम्हाल्न नसकेको भन्दै प्रश्न गरे। उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन। प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०-१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो। तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ। भिडियो अहिले छ्याप्छ्याप्ती छ। यसमा प्रश्न उठ्दैन।’

बिएल संवाददाता - काठमाडौं