पार्टीहरूले उर्दी जारी गरेपछि 'गयल' हुन थाले रविका समर्थक

पातलिदैछ सहभागिता तर प्रदर्शन जारी छ । तस्बिर : सामाजिक सञ्जाल

'सिधा कुरा फेम'का सञ्चारकर्मी रवि लामिछानेका समर्थनमा चितवनमा भैरहेको प्रदर्शनमा सहभागीको संख्या ह्वात्तै घटेको छ । नेकपा र  कांग्रेसको स्थानीय जिल्ला नेतृत्वले पार्टीका समर्थक शुभेच्छुकहरूलाई सहभागी नहुन परिपत्र जारी गरेपछि समर्थकहरू प्रदर्शनमा गयल हुन थालेको अनुमान गरिएको छ । 

आइतबार साँझ चितवन जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले शान्ति सुरक्षा कायम राख्न आआफ्ना पार्टीका कार्यकर्तालाई संयमित हुन आग्रह गर्ने निर्णय गरेको थियो । बैठकमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र राप्रपाका नेता–प्रतिनिधि सहभागी थिए । 

रविको समर्थनमा रहेका स्थानीय शुभेच्छुकहरू मौन हुन थालेका छन् बाहिरबाट गएकाहरू पनि फर्कन थालेका छन् । युट्युबरहरूको संख्या पनि पातलिएको छ । 

भद्दा गालीगलौजमा उत्रिका सामाजिक सञ्जालकर्मीलाई पक्राउ गर्न थालेपछि भर्चुअल आन्दोलन पनि केही मत्थर भएको छ । 

यसअवधिमा रवि लामिछानेका २२ जना समर्थकलाई पक्राउ गरिसकिएको छ । चारजना धरौटीमा रिहा भए पनि १८ जना अझै प्रहरी हिरासतमै रहेको जनाइएको छ । 

 

प्रकाशित मिति: : 2019-08-22 11:11:01

प्रतिकृया दिनुहोस्