५७ वर्षको उमेर भुटानबाट लखेटिएका वीर्खबहादुर तामाङ अहिले ८८ वर्ष भए। भुटानले लखेटेपछि वीर्खबहादुर नेपालको मोरङस्थित पथरी शनिश्चरेमा आएर आश्रय लिएको तीन दशक बितिसकेको छ। उनको परिवारमध्ये भुटानी शिविरमा बस्ने उनी एक्ला हुन।
भुटानले स्वदेश फर्कन नदिएपछि वीर्खबहादुरका आफन्त र नातागोता धेरैजसो पुर्नवासमा तेस्रो मुलकमा गइसके। माइलो र कान्छो छोरा अमेरिका गए। जेठो छोरा भुटानमै सैनिक जागिरमा छन्। यता शिविरमा अरु नातेदार कोही छैनन्।
वीर्खबहादुरलाई नेपाल बसेको तीन दशममा नेपाली नै हुँ भन्ने लाग्छ। नेपाल प्यारो लाग्ने गरेको छ। पुनर्वासमा तेस्रो मुलुकमा जाने इच्छा उनमा छैन। बरु उनलाई नेपालले एक नागरिकको दर्जा दिए हुन्थ्यो भन्ने लागेको छ। ‘भुटानी शरणार्थी भए पनि म नेपाली हुँ। मलाई नेपाल प्यारो लाग्छ,’ उनले भने, ‘अब छिट्टै नेपालले हामीलाई नेपालीको नागरिकता देओस्। मर्ने बेला मरेपछि टाउको लुकाउने माटो देओस्।’
नेपाली नागरिकता पाउने आशमा तेस्रो देश नगएको वीर्खबहादुर बताउँछन्। आफ्नो हजुरबुवा ताप्लेजुङको दोखु घ्याङ्वारीबाट काम खोज्ने क्रममा भुटान पुगेको बताउँदै उनले नेपालले अब बस्नका लागि आफ्नै झुपडी बनाइदिनुपर्ने उनको माग छ।
अहिले भुटानी शरणार्थी प्रकरणबारे समाचार सुनेपछि उनी छक्क त परेकै छन्, साथमा उनलाई नरमाइलो पनि लागेको छ। ‘हामी बाध्यताले शरणार्थी हुनु परेको छ। अहिले नक्कली शरणार्थीले गर्दा हामी सक्कलीलाई समस्या भएको छ,’ वीर्खबहादुरले भने, ‘शरणार्थी भनेको थाहा छ उनीहरुलाई ? के पुगेन र नक्कली शरणार्थी बन्नु पर्यो ?’
०००
पथरी शनिश्चरेस्थित शिविरमा ७७ वर्षीय भगिनन्द गुरुङ श्रीमतिसहित एक छोरासँग बस्छन्। भुटानबाट लखेटिएपछि उनको परिवार नै नेपालमा आश्रय लिन बाध्य भएको थिए। भगिनन्दका तीन भाइ छोराहरू अमेरिका गइसके। उनलाई भने अमेरिका जाने मन नै छैन।
आफ्नो बाबु धनकुटाको पाख्रीवासबाट भुटान गएको बताउँदै भगिनन्दले नेपाल छाडेर अनेत्र जान मन नभएको बताए। ‘मेरो आफन्तहरु पनि धनकुटामा हुनुहुन्छ। मेरो बुवा यहाँबाट काम खोज्दै देश छाड्नु भएको हो,’ उनले भने, ‘भटानले लखेटेपछि हामी नै शरणार्थी हुनुपर्यो। नेपाल त मेरो पनि हो।’
२५ वर्ष भुटानमै स्वास्थ्यकर्मी भएर काम गरेका भगिनन्दको यहाँ पनि मेडिकल छ। उनलाई नेपालमा अरु थप केही चाहिएको छैन, तेस्रो मुलुक पनि जानु छैन। बरु उनलाई नेपाली भएर मर्न पाउने धोको छ। ‘नेपाल सरकारले हामीलाई चिहान राख्ने माटो दिए हुन्छ। अब तेस्रो मुलुक जानु छैन। बरु हामीले नागरिकता पाउनुपर्छ,’ भगिनन्दले भने।
वीर्खबहादुर र भगिनन्द मात्र होइन, उनी जस्ता थुप्रै पाका उमेरका शरणार्थीहरू तेस्रो देश नजाने भनेर शिविरमै बसिरहेका छन्। पुनर्वास गएका आफन्तहरूले पठाएको सामान्य खर्चको भरमा उनीहरूको दैनिकी चलेको छ। नेपाली नागरिकता पाउनेबाहेक उनीहरुसँग थप सपना छैन।
केही तेस्रो देश जाने भनेर पनि अझै कुरेर बसेका छन्। उनीहरुलाई भने अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले निराश बनाएको छ। ‘सरकारमा भएकाहरूले नै नेपालीलाई नक्कलीलाई भुटानी शरणार्थी बनाएर पठाउने योजनामा रहेछ। हाम्रो माग कहाँबाट सम्बोधन हुन्छ ?, ’ पदमबहादुर तामाङले भने।
तामाङको परिवार भुटानमै छ। उनलाई अहिले पनि भुटान फर्कने इच्छा त छ तर फर्कनका लागि लामो समयसम्म पनि वातावरण बनेको छैन।
मोरङको पथरी शिविरका क्याम्प सचिव चम्पासिंह राईकाअनुसार शिविरमा हाल १ हजार ४४१ जना शरणार्थी छन्। जसमध्ये २०४ जना शरणार्थीहरू दर्तामा परेका छैनन्। राष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर) ले सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणिकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्बरसम्म तेस्रो देशमा पुनर्वासको ब्यवस्था मिलाइदिएको थियो।
अहिले आयोगले प्रमाणिकरणको काम रोकिसकेको छ। जसका कारण शरणार्थी शिविरमा अहिले जेष्ठ नागरिक, अपांगता भएका तथा कमाएर खान नसक्नेहरू बसेका छन्। उच्च आयोगले भुटान फर्किन चाहने, नेपाल नै बस्न चाहने र प्रमाणिकरण हुन छुटेका शरणार्थीलाई नेपाल सरकारले नै ब्यवस्थापन गर्ने भनिसकेको छ।
नेपालको मोरङ, झापा, काठमाडौंलगायत शिविरमा करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरू आश्रय लिँदै आएका छन्।
सक्कली भुटानी शरणार्थीद्वारा नक्कलीलाई कारबाहीको माग
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका नेतादेखि कर्मचारीको संलग्नता देखिएपछि सक्कली भुटानी शरणार्थीहरु आक्रोशित छन्। नक्कली भुटानी शरणार्थीले गर्दा आफूहरु थप समस्यामा परेको भन्दै उनीहरु सडकमै निस्किएर भुटानी शरणार्थी प्रकराणमा मुछिएकालाई कारबाही गर्न माग गरेका छन्।
मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित सडकमा निस्किए। उनीहरुले आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध र्यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे भन्दै प्रदर्शन गरेका छन्।