क्याफे कफी डेका संस्थापक बीजी सिद्धार्थ हेगडेको रहस्यमय अवस्थामा मृत्यु भएपछि सीसीडीको साम्राज्य उनकी पत्नी माल्भिका हेगडेले सम्हाल्ने सम्भावना देखिएको छ।
द हिन्दूको रिपोर्टमा यो सम्भावना औंल्याइएको हो।
माल्भिका पहिलेदेखि नै कम्पनीको बोर्डमा छिन्। तर उनलाई पति वियोगबाट बाहिर निस्किन समय लाग्ने भएकाले यो कुरा तत्कालै हुने देखिँदैन। ब्यांग्लोर विश्वविद्यालयबाट इन्जिनियरिङ गरेकी माल्भिका कर्नाटकका पूर्वमुख्यमन्त्री एवं भारतका पूर्वविदेशमन्त्री एसएम कृष्णाकी छोरी हुन्। सिद्धार्थ हेगडे सीसीडीका प्रमुख तथा प्रबन्ध निर्देशक थिए। उनको मृत्युको पुष्टि भएसँगै सीसीडीले बुधबार अन्तरिम रूपमा पूर्व आईएएस अधिकारी एसबी रंगनाथलाई कम्पनी सम्हाल्ने जिम्मेवारी सुम्पिएको छ। सँगसँगै कम्पनी बोर्डले नितिन बागमानेलाई अन्तरिम चिफ अपरेटिङ अफिसरमा नियुक्ति गरेको छ।
सिद्धार्थ हेगडेले सीसीडीलाई आफ्नो संघर्ष र प्रतिभाका रूपमा खडा गरेका थिए। भारतीय समाजमा सिद्धार्थलाई एक सफल व्यक्तित्व मान्ने गरिन्थ्यो।
तर उनको मृत्युले सफलता र शान्तिको सम्बन्धलाई नै कठघरामा उभ्याइदिएको छ। सिद्धार्थले तीन वर्षअघि दिएको अन्तर्वार्तामा भनेका थिए– ‘व्यवसायी कहिल्यै रिटायर्ड हुँदैनन्, बरु मर्छन्।’ सायद त्यतिबेला उनलाई आफ्नै मृत्यु निराशाको अन्धकारमा हुन सक्नेछ भन्ने महसुस नै भएन। उनलाई आफैँले आफैँलाई समाप्त पार्छु भन्ने लागेकै थिएन सायद! सिद्धार्थले मंगलोरका सेन्ट एलेयासिसबाट अर्थशास्त्र अध्ययन गरेका थिए। उनी युवा अवस्थामा कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए। आफू ग्रेजुएसन भइरहँदा उनी कार्ल माक्र्सको किताब ‘दास क्यापिटल’ पढिरहेका हुन्थे। यही स्वध्ययनले हुन सक्छ, उनी माक्र्सबाट निकै प्रभावित भए। तर रुसको कम्युनिस्ट पार्टीहरूप्रति उनले निराशा पनि पोखेका थिए। त्यसपछि उनमा यो विचारधाराबाट मोहभंग भयो। युवा सिद्धार्थमा एक किसिमको बेचैनी थियो। सोही कारण यसबाट निक्लिएर सन् १९९६ मा उनी पुँजीवादी व्यवस्थामा विलिन हुन पुगेका थिए।
खासमा दास क्यापिटल पढ्नेवाला व्यक्ति पुँजीवादी व्यवस्थामा आएर धेरै नै आँधी हुन्डरी ल्याउन चाहन्थे। तर उनको भित्री आँधी अर्थात् मनको वेग यति अस्थिर हुनपुग्यो कि मंगलबार उनी नेत्रावती नदीमा सदाका लागि शान्त हुन पुगे।
‘म अजरा मिसलाई कहिल्यै भुल्न सक्दिनँ। एक दिन उनी मलाई समाएर बेस्सरी रोइन्। त्यसपछि के गर्ने भन्ने मैले सोच्नै सकिनँ’, उक्त अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई याद छ– के भएको हो खासमा भनेर सोधेँ पनि। उनी एकदमै दुःखी थिइन्। रघु र अशोक पनि त्यहाँ आए र उनीहरूले पनि सोधे। तर यसले पनि उनी शान्त भइनन्। केही समयपछि उनले हामीतर्फ हेर्दै भनिन्– तिमीहरू किन राम्ररी पढ्न कोसिस गर्दैनौ? हामी सबै अवाक् हुन पुग्यौँ।’
‘हामीलाई यो प्रश्नले रोऊँ कि हाँसू बनायो। तर अबदेखि राम्ररी पढ्ने भनी आश्वस्त बनायौँ’, उनले अन्तर्वार्ताका क्रममा स्कुले दिन सम्झिँदै भनेका थिए, ‘त्यो दिन हामी सबैमा भित्री एक प्रकारको भाव तरंगित भइरहेको थियो। अजरा मिस केही प्रगतिशील थिइन्। यो त्यो बेलाको कुरा हो, जुन बेला मुस्लिम महिलाका लागि पढाइ सहज थिएन। अजरा मिसले पढाइमात्रै गरेकी थिइनन्, चिकमंगलुरमा एउटा स्कुल पनि खोलेकी थिइन्। उनी हामीलाई गाली पनि गर्न सक्थिन्, तर त्यसको असर हामीलाई कति हुन्थ्यो थाहा थिएन। उनी रुँदा त्यसको असर धेरै भयो। यो हाम्रा लागि पाठ पनि थियो कि गाली गर्नुभन्दा दिल छुने गरी रुनु धेरै असरदार हुन्छ!’
सिद्धार्थका बाबु उनले नयाँ व्यवसाय गरेको हेर्न चाहँदैनथे। उनको इच्छा छोराले कुनै सम्मानजनक जागिर गरोस् भन्ने थियो। तर जब सिद्धार्थले व्यवसाय गर्ने भए, उनले नै छोरालाई ७ लाख ५० हजार भारु मद्दत गरेका थिए। सिद्धार्थलाई थाहा थियो– बाबुले धेरै रगत–पसिना चुहाएर उक्त रकम आर्जेका थिए। सोही कारण उक्त रकम कुनै पनि हालतमा नडुबोस् भन्ने उनको इच्छा थियो। यसबाट बच्न उनले ५ लाखको एउटा प्लान्ट खरिद गरे। उनलाई थाहा थियो– प्लान्टको मूल्य कहिल्यै घट्ने छैन र बेच्दा पनि बाबुको ७ लाख ५० हजार आउन सक्थ्यो र पैसा फिर्ता गर्न सकिन्थ्यो।
सिद्धार्थले एक अर्को अन्तर्वार्तामा भनेका थिए, ‘आफ्नो करिअरमा सबैभन्दा बढी आभार महेन्द्रभाइप्रति छ।’ सन् १९८३ को कुरा हो। ‘मैले बस लिएँ र बम्बईका लागि निस्किएँ। होटलमा एउटा कोठा लिएँ, जहाँ शौचालय सबैले प्रयोग गर्थे’, उनले भनेका थिए, ‘अघिल्लो दिन महेन्द्रभाइसँग कम्पनीको कुरा गर्न निस्किएँ। उनीबारे मैले एक इन्भेस्टमेन्ट म्यागजिनमा पढेको थिएँ। म उनीबाट तालिम लिन चाहन्थेँ, तर चुनौतीबारे उनीसँग आजसम्म कुराकानी नै भएको थिएन।’
सिद्धार्थले भनेका थिए, ‘नरीमन पोइन्टमा तुलसीआनी चेम्बर उनको नजिक पुग्दा उनीसँग मिल्नका लागि मसँग कुनै अपोइन्टमेन्ट थिएन। जब उनको निवास प्रवेश गरेँ, दुई÷दुईवटा एलिभेटर देखेर भित्रैदेखि रोमाञ्चित भएँ। त्यसबेलासम्म मैले एलिभेटर नै प्रयोग गरेको थिइनँ। छैटौँ तलामा महेन्द्रभाइको सचिवसँग भेट्न गयौँ। जुन मेरा लागि राम्रो पनि थियो, उनी तामिल थिए। महेन्द्रभाइसँग भेट्ने मौका पाइयो। मैले महेन्द्रभाइसँगै स्टक मार्केट पनि सम्झिएँ। उनले ममाथि धेरै नै भरोसा पनि गरे। मैले उनीबाट धेरै कुरा सिक्न पाएँ।’
सिद्धार्थका अनुसार उनी कर्ममा भरोसा गर्ने व्यक्ति थिए। अन्तर्वार्ताकै क्रममा सिद्धार्थले भनेका थिए, ‘उनले मलाई एक कहानी सु्नाए, जुन म कहिल्यै भुल्न सक्दिनँ। त्यो कहानी यस्तो थियो– राजस्थानमा एक जैन गुरु थिए। उनी आफ्ना शिष्यहरूसँग गइरहेका थिए। जैन साधुको नांगै पैताला हजारौँ किमि चल्न सक्छ भन्ने सुनेकै छौँ। उनी कठिन मौसममा पनि आफूलाई उस्तै राख्दथे। जैन साधुको भीडबाट एउटा राजाको दल पनि निस्कियो। राजालाई उनका मानिसले पालकीमा बोकेका थिए।