सरकारले वार्ताका निम्ति खटाएका सोम पाण्डेको टोलीले देशका बिभिन्न भागमा पुगेर प्रतिबन्धित विप्लव नेतृत्वको माओवादी नेतासँग वार्ता गरिहेको बताउँदै आएको छ। यद्यपी विप्लव समूहका एक केन्द्रीय नेताले त्यसको ठाडै अस्वीकार गरेका छन्। खुला रूपमा राजनीति गर्ने पार्टीमाथि राज्यले एकतर्फी प्रतिबन्ध लगाएको आरोप लगाउँदै उनले सरकारले नै युद्वको फायर खोलेकाले आफूहरू त्यसको डटेर सामना गर्ने विप्लव समूहका पोलिटब्यूरो सदस्य ओम प्रकाश पुनले बताए। पुनसँग पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे बिएल नेपालीका लागि डिल्ली पाण्डेले गरेको कुराकानीको सम्पादित अंश
तपाईंको पार्टी र सरकार बिचको वार्ताको कुरा के हो?
वार्ता अनावश्यक हल्ला मात्र हो, पार्टीको तर्फबाट कुनै आधिकारिक निर्णय भएको छैन। सरकारको पनि कुनै आधिकारीक छैन। सरकारले आफ्नो असफलता ढाकछोप गर्न बाहिर वार्ताको हल्ला गर्ने र भित्र भित्र हाम्रा नेता कार्यकर्तालाई धरपकड गर्ने गरेको छ।
राज्यले नियोजित रुपमा आफ्ना मिडिया प्रयोग गरी वार्ताको अफवाद फैलाएर जनतालाई माओवादी वार्ता गर्न नचाहेको भन्दै भ्रम फैलाउन यस्तो उपाय रचेको देखियो।
राज्यले वार्ताको निम्ति न औपचारीक वार्ताको चिठी लेख्यो, न गम्भीरता देखायो, आफ्नो गल्ती ढाकछोप गर्न र आफ्नो सत्ताको आयु लम्ब्याउन विभिन्न हतकण्ठा निकालेको मात्र हो।
भनेपछि वार्ताको कुनै कुरा छैन?
छैन, छैन। कुनै पनि यस्तो कुरा भएको छैन। राज्यले दमन यतावत राख्दै गैर राजनीतिक ब्यवहार देखाएको छ। धम्कीपूर्ण वार्ताको भाषा प्रयोग गरिएको छ।
देशमा देशी विदेशी शक्तिको डिजाइनमा केपी र प्रचण्ड लागेका छन्। साम्राज्य र यथास्थितिवादीको मतियार भएर केपी प्रचण्डले हामीमाथि फायर खोलेका हुन्।
उनीहरूले हामीसँग वार्ता गरी राजनितिक मुद्दा हल गर्न चाहदैनन्।
वार्ता गर्ने भनेर तपाईंहरूले केही सरकारी वार्ता टोलीका मान्छे भेटेको होइन र?
हैन वाईयात हल्ला हो। बनावटी कुरा हो। वार्ता भयो, भेट भयो भनेर आएका सबै समाचार फेक हुन्। वार्ता गर्न आएनन् भनेर जनतालाई हामीप्रति नराम्रो भ्रम फैलाउन राज्यले आफ्ना मिडिया प्रयोग गरी हाम्रो बदनाम गराएको मात्र हो।
केही समय अघि तपाईंको पार्टीले सरकार वार्ता गर्न आए आफूहरू तयार रहेको भन्ने निणर्य गरेको होइन र?
होइन। पार्टी केन्द्रीय समितिले सुरूमै गरेको कुरा के हो भने राज्य सकारात्मक हिसाबले राजनीतिक ढंगले पेस भयो भने, नेपालमा एउटा वैज्ञानिक समाजवाद, दिगो शान्ति, सम्मृद्धिका निम्ति राजनीतिक प्रकारले राज्य पेस भयो भने हामी वार्ताबाट पछि नहट्ने, छलफलबाट पछि नहट्ने, राजनीतिक संवादबाट पछि नहट्ने भन्ने हाम्रो पूर्व घोषित नीतिनै हो।
जब हामीमाथि प्रतिबन्ध लगाइयो त्यसपछि हामीले प्रतिबन्ध खारेज गर्ने, बिना कारण जेलमा राखिएका हाम्रा नेता कार्यकर्तालाई रिहाइ गर्ने, मुद्दाहरू खारेज गर्ने र एउटा राजनीतिक वातावरण एवं समाजवाद श्रृर्जना गरे हामी छलफल गर्न तयार छौं।
हामी नयाँ राजनीतिक बहसको निम्ति तयार छौं भन्ने खालको ग्यारेन्टी सरकारबाट भयो भने हाम्रो हिजो निणर्य भएको जे थियो, आज पनि त्यही हो।
भनेपछि तपाईंहरूको नजरमा राज्य वार्ताका निम्ति जिम्मेवार भएन
हो, हो। यो वातावरण श्रृजना गर्ने राज्यले हो, हामी बिद्रोही शक्ति हौं। हामीले हाम्रा राजनीतिक गतिबिधि स्वभाविक रूपमा गरिन्छ। हामीले पनि त्यही गरेका हौं। तर, हामीले युद्वको घोषणा गरेका थिएनौ नि।
त्यो त राज्यले गर्यो, संसारमा विद्धोहीले युद्वको फायर खोलेको हुन्छन्। सरकार र राज्य शक्तिले त्यसलाई वार्ता र छलफलबाट समस्या समाधान नभएमा मात्र युद्वको फायर खोल्छ।
हिजो १० वर्षे युद्व हेर्नुहोस्। त्यस्तै भएको थियो। तर, यो राज्यले अहिले आफैंले बिद्रोही जस्तो पहिला फायर खोल्ने काम गरेको छ।
हामी खुला राजनितिक अभियानमा हुँदा हुँदै, उसले एकलौटी युद्वको घोषणा गर्यो, यसको जिम्मेवारी राज्यले लिनुपर्छ। राज्यले हाम्रा मान्छे मार्न थालिसक्यो हामीले त अहिलेसम्म फायर खोलेकै छैनौं। अलिअलि प्रतिवाद मात्र गरेका हौं। तर, सबै यसै गरी बस्न सकिँदैन अब भंयकर हुन सक्छ।
राज्यले फायर खोल्यो भन्नुभयो, तपाईंहरू भूमिगत हुनुहुन्छ, नेता कार्यकर्ता पक्राउ परेका पर्यै छन्। अब कसरी पार्टी अघि बढ्छ?
होइन अब राज्यले युद्व चाहेको छ। त्यसैले राज्यले पहिला युद्वको फायर खोल्यो, हामी त्यसको प्रतिबाद गर्ने हौं। प्रतिवाद गरेरै अघि बढ्छौं। नेपालमा वैज्ञानिक समाजवाद स्थापना नहुन्जेल हाम्रो लडाई जारी रहन्छ।
पछिल्लो समयमा तपाईंका नेता धेरै पक्राउ परे। कार्यकर्ता पनि त्यही मात्रामा पक्राउ परिरहेका छन्। तपाईंहरूलाई कमजोर ठानेर सरकारले वार्तामा बोलाएको हो?
त्यो त वाईयात कुरा हो। विगत हेर्नुहोस् राणाले दमन गरे, प्रजातन्त्री झन जागेर आयो। ५२ सालमै नेपालकै इतिहासमै १४ जिल्लाबाट सुरुवात भएको जनयुद्वले संसार हल्लायो। त्यस कारण अहिले हाम्रो पार्टी कमजोर होइन, पार्टी सुद्धृढ हुँदै सक्षम भएर जनतामा स्थापित हुँदै अघि बढेको छ।
यिनीहरू आफू असफल भएका छन्। तपाईं देख्न सक्नुहुन्छ। देशी विदेशीको नजरमा एकदमै असफल हुँदै गएका छन्। केपी र प्रचण्डलाई साम्राज्यवादीले असफल पात्रका रुपमा नचाउँदै गएका छन्।
अहिले यिनीहरुको देश विदेश भ्रमणदेखि लिएर आर्थिक कुरा हेर्नुहोस्, देशको अर्थतन्त्र कति घाटामा छ? यो सबै हाम्रो थाप्लोमा थुपार्दै गइरहेका छन्। त्यसैले हाम्रो पार्टी कमजोर होइन झनै बलियो बन्दै गएको छ।
जनतामा झन उत्साह छाएको छ। हाम्रो पार्टीप्रतिको विश्वास बढ्दै गएको छ। हिजो जनयुद्व लडेका साथीहरू एक जुट भएर पार्टीलाई अघि बढाउ भन्दै आउन थाल्नुभएको छ। हाम्रो नीति र नेतृत्व जनतामा स्थापीत भएको छ। अब हामी बैकल्पिक शक्ति यही हो भन्ने जनतामा परेको छ।
तर, केपी प्रचण्ड अहिले आफैं केही गर्नसक्ने अवस्थामा छैनन्। हेर्नुहोस् त (रअ) का एक प्रमुखले कसरी घुमाए। अनि त्यस्तै गरी सिआईएले पनि घुमाउँदैछ। तर, हाम्रो कुरा के छ त भन्दा, साम्राज्यवादीले देशलाई चलाउँदासम्म यस्तै समस्या कायम रहन्छ, जनताको भलो हुँदैन त्यसैले यो सबैको अन्त्य र वैज्ञानिकवादको कायम नहुँदासम्म हामी लड्नुपर्छ।
सूचना प्रविधिको जमाना छ, पहिला जस्तो भूमिगत बस्न सहज छैन। राज्यसँग लड्ने कुरा सजिलो छैन। अनि जनताले पनि तपाईँहरूलाई कसरी पत्याउँछन्?
जहाँ संकट आउँछ, त्यहाँ समाधानको उपाय हुन्छ। अहिले विश्वमा जे जति प्रविधि छ, त्यो बसैको पहुँचमा छ। राज्यको पहुँचमा मात्र छ भन्ने होइन। त्यो विद्रोहीसँग पनि हुन्छ। सूचना सञ्चारले हामीलाई मात्र घाटा गर्दैन त्यसले राज्यलाई पनि गर्छ।
प्रविधिको प्रयोग कसरी गर्ने भन्ने कुरा मात्र हो। त्यसले हामीलाई फाईदै छ। पार्टीले त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा छलफल गरिदै गगिएको छ।
दोस्रो, जनताले कसरी पत्याउने भन्ने कुरा, हिजो राजा महाराजाले आफ्नो श्रीमती खुसी पार्न पोखरी बनाउँथे, महल बनाउँथे, अहिले केपी प्रचण्डहरू श्रीमती खुसी पार्न राजाकै शैलीमा विदेश सयर गर्ने, दोस्रो विवाह गर्ने, देशलाई दोहन गर्ने गरेका छन्।
यिनीहरू नव राजाकै शैलीमा आए। यिनीहरू लुटेरानै हुन्। हाम्रो भाषामा ‘दलाल’ हरू। मार्क्सवाद पढेर गएका पूर्वएमाले र हामीसँगै विगतमा लडेका प्रचण्डहरू सरकार र सत्तामा गएका तालिम प्राप्त लुटेरा भएका छन्। जनता यिनीहरूबाट आजीत भइसके।
त्यसैले हामी आम जनसमुदायलाई आग्रह गर्छौं- हामी तपाईंहरूलाई धोका दिनै छैनौं। हामी केपी प्रचण्ड जस्ता नवराजा भएर जन्मने छैंनौं, हामी वैज्ञानिक समाजवाद कायम नहुन्जेल तपाईहरूकै साथमा हुनेछौं।