करिब दुई हप्ताअघि पत्रकार बिनु सुवेदीले सेतोपाटी डिजिटल पत्रिकामा 'दाइहरूको डर' शीर्षकमा एउटा ब्लग लेखिन्। जसमा उनले आफूमाथि भएका दुर्व्यवहारबारे आरोपितको नाम उल्लेख नगरी आफ्नो अनुभव लेखेकी थिइन्।
उक्त विषयमा बोल्ने आँट गरेको भन्दै कतिपयले प्रशंसा गरेको र कतिपयले चाहिँ 'नाम उल्लेख गर्न नसक्नेले किन लेखेको भनी प्रश्न गरेको' सुवेदीले बताइन्।
उनले जस्तै दुर्व्यवहारसम्बन्धी आफ्नो तीतो अनुभवबारे पछिल्लो समय सञ्चारमाध्यममार्फत् खुलेर लेख्न थालेका महिलाहरूको पनि अनुभव उस्तै छ।
त्यसरी लेख्नेमा त्रिभुवन विश्वविद्यालयका छात्रा, काठमाण्डू महानगरपालिकाकी पूर्वकर्मचारीदेखि पत्रकार तथा लेखिकासम्म छन्।
यी मध्ये केहीले आरोपित व्यक्तिका नामै उल्लेख गरेका छन् भने केहीले उल्लेख नगरी आफ्नो भोगाइ लेखेका छन्।
तर लेखिसकेका अधिकांश महिलाले खासगरी दुईवटा प्रश्न सामना गरेको अनुभव सुनाएः
- नाम उल्लेख गरेर के भयो त आरोपितमाथि कुनै अनुसन्धान वा कारबाही खोई?
- नाम उल्लेख गर्न नसक्नेले लेखेर के हुन्छ? वा हुँदै नभएको लेखेको पो हो कि?
सामाजिक सञ्जालमार्फत् वा व्यक्तिगत रूपमा सोधिने यी प्रश्नले शुरूमा आफूहरूलाई केही तनाव दिए पनि बोलेकोमा पछुतो नलागेको उनीहरूको अनुभव छ।
१५ वर्षअघि तत्कालीन नगरप्रमुखले आफूलाई गरेको दुर्व्यवहारबारे गत वर्ष बोलेकी काठमाण्डू महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले भनिन्, "मैले बोलेपछि नकारात्मक कुराहरू हुन्छन्, मैमाथि उत्रिनेहरू हुन्छन् भन्ने लाग्दा लाग्दै पनि मैले दुर्व्यवहारबारे बोल्नुपर्छ भन्ने लागेर श्रीमान्सँग सल्लाह गरेरै बोलेकी थिएँ।"