नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एक भावुक ट्विट गरेका छन् । उनको यो भावना मरणोापरान्त अंगदान गरेपछि फुरेको हो । उनले ट्विट गर्दै श्रीमान् श्रीमतीलाई दुबै बूढाबूढी भनेका छन् र दुबैले मरणोपरान्त अंगदान गरेको जानकारी दिएका छन् ।
यो जानकारी हार्डसेल हो र यसको अर्थ समाचारको संसारमा त्यति धेरै अर्थ राख्दैन । यस्तो काम अरूले पनि दिनहुँ गरिरहेका हुन्छन् । तर, उनीहरूसँग प्रोटोकल हुँदेन, त्यसैले समाचार बन्दैन ।
तर, मन्त्री ज्ञवालीले सफ्टसेल कुरा पनि लेखेका छन् । त्यसको भने केही अर्थ हुन्छ । त्यही अर्थमा पनि यो समाचारको कोण निस्केको हो ।
उनले ट्विटमा अगाडि लेखेका छन् - जिन्दगीको त के भरोसा छ र !
एक कोणबाट हेर्दा यो सामान्य छ तर अर्को कोणबाट हेर्दा उनको जीवनमा कतै थ्रेट त छैन भनेर प्रश्न उठाउन पनि सकिन्छ ।
उनले अझ अगाडि लेखेका छन् - जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।
यसबाट के देखन्छ भने उनले बाँच्दा उज्यालो छर्ने र मरेपछि अलिकति काम लाग्न सकियोस् भन्ने कामना मात्र गरेका छन् ।
तर, ओली सरकारका यी परराष्ट्रमन्त्री यो ट्विटरमा पस्किएजस्तै मात्र छन् त ? के उनी अहिले यी दुईवटा काममा मात्र केन्द्रीत भैरहेका छन् त ?
अरूको त के कुरा, उनी नजिकका समेत कोही पत्याउन तयार छैन । यही मन्त्रिमण्डलमा अर्थमन्त्री हुनका लागि उनले गरेको प्रयास कहाँ छिपेको छ र ?
यति हो नौ दिनमा नौलो र वीस दिनमा बिर्स्यो हुने मुलुकमा अलि छिटै बिस्मृतिमा जान भने सकिन्छ ।
पार्टीभित्रको गुट राजनीतिमा उनी अहिले संस्थापन पक्ष हुँदा अरूलाई कति पेलिरहेका छन् । त्यो त भुक्तभोगीलाई नै थाहा हुन्छ ।
आधा समयभन्दा बढी त विदेश यात्रामै निस्किरहेका छन् । यसमा डलरमा आउने टीए/डीएको हिसाव छैन भनेर कसले पत्याउँछ र ?
यी सबै पृष्ठभूमिलाई ध्यान दिने हो भने प्रदीपकुमार ज्ञवालीले अंगदान गरेपछि दुबै बूढाबूढी भनेर जे ट्विट गरेका छन्, त्यसको अर्थ पक्कै पनि केही छ, त्यो थाहा पाउँन भने समयको प्रतीक्षा गर्नैपछ ?