स्थानीय तह निर्वाचन

नेकपाका नेताहरू चुनाव लड्ने चर्चाले रोल्पाको माहोल थप रोचक बन्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि स्वतन्त्र रूपमा चुनावलाई उपयोग गर्ने चर्चाले रोल्पाको चुनावी माहोल थप रोचक बनेको छ।

२०७४ को स्थानीय निर्वाचनमा थबाङ गाउँपालिकाका सबै वडा र गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको सो पार्टीले यसपटक अन्य स्थानीय तहमा पनि उम्मेदवारी दिने चर्चा चुलिएको छ।

जिल्लाको गंगादेव, माडी, थबाङ, सुनछहरी र सुनिलस्मृति गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले उम्मेदवारी दिने चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ। कतिपय स्थानमा त उम्मेदवारी दिने नेताहरूको नाम समेत चर्चामा छ।

गंगादेवमा चुडामणी ओली ‘आदर्श’, माडीमा केशबहादुर बाँठा ‘सुवास’, सुनिलस्मृतिमा सन्तोष सुवेदी ‘प्रयास’ र थबाङमा अमित घर्तीको चर्चा चुलिएको छ। यस्तै, सुनछहरीको जेलबाङ र फगाममा वडाध्यक्षको नाम समेत चर्चामा छ।

फगाममा हिमलाल पुन ‘हेमन्त’ लाई वडाध्यक्ष उठाउने तयारी भइरहेको स्थानीय नेताहरूको भनाई छ। चुनावमा जाने पार्टीको स्पष्ट नीति नभएपनि जनमत बनाउने, स्वाधिनता बचाउने नीतिअनुरूप चुनावलाई पनि उपयोग गर्न सकिने नेपाल कम्युनिष्ट पार्टी विशेष कमिटी सदस्य सन्तोष सुवेदी ‘प्रयास’ को भनाइ छ।

‘एमसीसीका विरोधी शक्तिहरू एकजुट हुने र राष्ट्रिय स्वाधिनताका लागि जनमत बनाउने हाम्रो अभियान हो’, प्रयासले भने, ‘त्यसका लागि चुनावलाई पनि उपयोग गर्न सकिन्छ।’

कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने र कतिपय ठाउँमा राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्ने व्यक्तिलाई साथ दिन सकिने उनीहरूको नीति छ।

सुवेदीको पनि चर्चा

विशेष कमिटी सदस्य सुवेदीको पनि सुनिलस्मृति गाउँपालिकामा उम्मेदवारी दिने चर्चा चलिरहेको छ। तपाईंको पनि उम्मेदवारी दिने चाहना हो? भन्ने प्रश्नमा सुवेदीले व्यक्तिगत चाहना हुनु स्वभाविक भएपनि पार्टीकाे निर्देशनलाई मान्नुपर्ने बताएका छन्।

‘व्यक्तिगत रूपमा मेरो पनि चाहना छ’, सुवेदीले भने, ‘तर पार्टीले के भन्छ त्यसका आधारमा मैले निर्णय लिने हो।’

विप्लवसँग तालमेलको तयारी

देशमा एमालेविरूद्ध गठबन्धन बनेपनि रोल्पामा भने मुख्य शक्ति माओवादी भएकाले यसको विरूद्ध अन्य दलहरूले विप्लवको साथ खोजिरहेका छन्।

जिल्लाको १० वटा स्थानीय तहमध्ये ७ वटा तहमा माओवादीले जितेको छ। अहिले ती तहहरूमा माओवादीलाई हराउन अन्य दलहरूले विप्लवको साथ खोजी रहेका छन्।

अघिल्लो निर्वाचनमा काँग्रेस, एमाले र जनमोर्चाले थबाङ गाउँपालिकामा विप्लवका नेता तथा स्वतन्त्र उम्मेदवार अमित घर्तीलाई साथ दिएका थिए। त्यसरी नै अहिलेको निर्वाचनमा पनि कतिपय ठाउँमा विप्लवलाई साथ दिने र कतिपय ठाउँमा विप्लवको साथ लिने ती दलहरूको तयारी छ।

प्रकाशित मिति: : 2022-04-08 20:40:00

प्रतिकृया दिनुहोस्