२०६२/६३ को त्रुटिपूर्ण मार्गचित्रले मुलुक समस्याको दलदलमा, कसैसँग डर नभएपछि मनपरितन्त्र हाबी भयो: कमल थापा

कमल थापा ।

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देउता, राजा र जनता कोहिसँग पनि डर नभए पछि मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भएको बताएका छन्।

अभिभावकको रूपमा रहेको राजसंस्थालाई षड्यन्त्रपूर्वक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोविज्ञान भएकाहरू मुलुकमा हाबी भएपछि मनपरितन्त्र बढेको विचार ब्यक्त गरेका छन् ।

राप्रपा धनकुटा जिल्ला समितिद्वारा शनिबार आयोजित अन्तरक्रिया एवंम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०६२/६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्गचित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे। ‘मुलुक जोगाउने र बनाउने हो भने गलत मार्गचित्र सच्च्याउने हिम्मत गर्नुपर्छ,’ उनले भने।

उनको सङ्केत  गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घियता तर्फ लक्षित थियो। बेरोजगार समस्या र भ्रष्टाचार मुलुकको समृद्धिको प्रमुख बाधक रहेको चर्चा गर्दै उनले मुलुकमा  संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको भन्दै आक्रोश ब्यक्त गरे।

अविरल वर्षाको कारण भएको जनधनप्रति दुःख प्रकट गर्दै बिपदको घडिमा सबै नेपाली एकठाउँमा उभिनु पर्नेमा जोड दिए ।

सो अबसरमा राप्रपाका संस्थापक नेता तथा पूर्व0 प्रधानमन्त्री स्वर्गिय सूर्यबहादुर थापाको स्मरण गर्दै थापाले उनीबाट आफूले प्रेरणा प्राप्त गरेको र उहाँसँग निकट रहेर काम गर्दा धेरै कुरा सिक्ने अबसर प्राप्त गरेको प्रसंग सुनाए ।

थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेलाई स्वागतसमेत गरेका थिए। कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बाशुदेब भट्टराई, बालानन्द भुर्तेल, प्रदेश सांसद ईन्दिरा राई, अम्बिका अधिकारी र जिल्ला अध्यक्ष मुमाराम राई‘कुमार’ लामालगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2019-07-14 13:48:45

प्रतिकृया दिनुहोस्