काठमाडौं । सुन्दरीजलस्थित स्यालमती खोलाको झरनामा शनिबार पाँचौँ राष्ट्रिय ‘क्यान्योनोनिङ महोत्सव–२०१९’ सम्पन्न भएको छ।
नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्धन गर्ने भन्दै नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल क्यान्योनोनिङ एशोसिएसनले महोत्सवको आयोजना गरेको हो।
महोत्सवमा सहभागी १०० मध्ये ६५ जनाले क्यान्योनोनिङ गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र लामाले जानकारी दिए।
एक छिनको रमाइलो एक ठाउँमा छ। यस्ता कार्यक्रममा सबै पर्यटनकर्मी मिल्ने हो भने नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धनमा सघाउ पुग्ने नेपाल पर्वातारोहण संघका महासचिव कुलबहादुर गुरूङले बताए।
संस्थाले सन् २००८ देखि नेपालमा क्यान्योनोनिङको विकास गर्ने भन्दै महोत्सवहरूको आयोजना गर्दै आएको छ।
डोरीको सहायताले पानीको छाँगोमा चिप्लेटी खेलिने साहसिक खेललाई क्यान्योनोनिङ भनिन्छ। यसमा झरना (छाँगा) को शिरबाट फेदीमा ओर्लेर मनोरञ्जन गरिन्छ ।
यो डोरीमा तुर्लुङ झुण्डिएर पानीमा रूझ्दै, ढुङ्गामा चिप्लिँदै र दहमा ड्राइभ हान्दै खेलिने साहसिक खेल हो। नेपाल क्यान्योनोनिङ एशोसिएसनले नेपालका करीब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको जनाएको छ ।
काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङफुङ झरना तथा धनकुटाको नमस्ते झरनामा व्यावसायिक रुपमा क्यान्योनोनिङ गराइँदै आएको लामाले जानकारी दिए। त्यसबाहेक स्याङ्जा, मनाङ, धादिङ, ओखलढुङ्गा र पर्वतका केही झरनामा क्यान्योनोनिङ हुन्छ।
नेपालमा वार्षिक करीब ५ हजारले नेपालका झरनामा क्यान्योनोनिङ गर्ने गर्छन्। तीमध्ये ९० प्रतिशत सङ्ख्यामा नेपाली हुन्छन्।
हेर्नुहोस् तस्बिरहरूः