वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा संशय देखिएको छ। देशको राजनीति एक दुरुह ‘प्रहेलिका’ बनेको छ। केही मानिस वीरेन्द्रको वंशनाशले गणतन्त्रको ढोका खोलिदिएको सपना पनि देख्न थालेका छन्।
गणतन्त्रकै मूल एजेण्डा लिएर हिँडेका माओवादी विद्रोहीहरूले देशका धेरै भू–भागमा जनगणना गर्न दिएका छैनन्। मलाई त्यही काम गर्नुछ, जुन उनीहरूको नीतिविपरित छ। मैले आफ्नो जिम्मामा भएका वडाको काम लगभग सकिसकेको छु। सामान लुट्ने, जलाउने, गणकलाई अपहरण गर्ने जस्ता हरकत भइरहेकै छन्। जनगणनामा खटिएका कर्मचारीबाट कागजात लुटिएको समाचार सुन्दा आङै सिरिङ्ग भएको छ।