स्थगितपछिको पुनः सुरू खेलमा न्युजिल्यान्डद्वारा भारतसामू २४० रनको लक्ष्य प्रस्तुत

तस्बिरः एजेन्सी

काठमाडौं । लगातार वर्षापछि रोकिएको एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा दोस्रो दिन न्यूजिल्याण्डले भारतसामू २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

म्यानचेस्टरमा लगातार वर्षापछि आजका लागि सारिएको खेलमा न्यूजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको हो।

पहिलो दिन बनाएको २११/५ बाट दोस्रो दिनको खेल सुरू गरेको न्यूजिल्याण्डले  थप २८ रन बनाउँदा ३ विकेट गुमाएको हो।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो।

त्यसपछि लगातार वर्षा भएपछि मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको थियो।

न्युजिल्यान्डका लागि रोस टेलरले सर्वाधिक ७४ रन बनाए। उनले ९० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।

कप्तान केन विलियमसनले ६७ रनको योगदान दिने क्रममा ९५ बलमा ६ चौका प्रहार गरे।

ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको  न्यूजिल्याण्डले हेनरी निकोलसलाई २८ रनमै गुमायो।

जेम्स निशम १२ , कोलिन डी ग्राडहोम १६, टम लेथम ३ रनमा आउट हुँदा लाथमले १० रन जोडे।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिँदा जसप्रित बुमराह, हार्दिक पान्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2019-07-10 15:45:39

प्रतिकृया दिनुहोस्