रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ।
यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो।
विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३, चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ।
यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क, अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शिर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो। कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरणका लगायतका सेवा प्रदान गर्दै आएको छ।
विशेषगरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो। गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानियहरु बताउँछन्।
यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ।
प्रायः सवारी चालक अनुमति पत्र नविकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भिड रहने गरेको उनको भनाइ छ।
गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ। मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ।